प्रेमराज सिम्खडा
कालीकोट, कार्तिक २९ गते । कालीकोटको जिल्ला अस्पतालमा डेन्टल सेवा सुरु भएको छ । बहिरङ्ग सेवासँगै अस्पतालले डेन्टल सेवा पनि थप गरेर सेवा दिन सुरु गरेको छ । सुरुका दिनमा बिरामीले जानकारी नपाएका कारणले छिटफुट मात्र दाँतका बिरामी आए पनि पछिल्लो समयमा दैनिक १० देखि १५ जनाको दरले डेन्टल सेवा लिन आउने गरेको अस्पतालले जनाएको छ ।
डेन्टल विभागका प्रमुख डा. रोहित गुरुङले दैनिक सेवा लिनेहरुको संख्यामा वृद्धि भइरहेको बताउनुभयो । उहाँले आफूले दैनिक अहिले सरदरमा १५ जना बिरामीलाई सेवा दिने गरेको छु । आगामी दिनमा अरु थप एक जना चिकित्सकको आवश्यकता रहेको उहाँले बताउनुभयो । कहिलेकाहीँ काम विशेषले बिदामा जानुपर्दा सेवा बन्द हुने भएकाले सेवाग्राहीलाई समस्या हुन्छ । त्यसैले पनि अर्को चिकित्सकको खाँचो छ, उहाँको भनाइ छ ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त ब्यवस्थापक डा. रत्नवीर सुनारले अस्पतालले डेन्टल सेवा दिन सुरु गरेपछि सेवाग्राहीलाई सहज भएको बताउनुभयो । तालिम प्राप्त व्यक्तिले दाँत उखेल्नुभन्दा डाक्टरले निकाल्नुमा धेरै फरक पर्ने भएकाले हाल अस्पतालमा दाँतको सेवा लिनेहरुको भीड लागेको बताउनुभयो
दशैँ वा तिहारमा घर जाँदा केही समस्या परेर डाक्टर बिदामा बस्नुपर्ने अवस्थामा सेवा बन्द हुने भएकाले अर्को एक जना चिकित्सकको व्यवस्थापनका लागि सङ्घ र प्रदेशमा कुरा भइरहेको बताउनुभयो ।
अस्पतालले हाल दाँत निकाल्ने, दाँत भर्ने, आरसिटी गर्ने, स्केलिङ अर्थात सफा गर्ने काम भइरहेको छ । अब केही समयमा आर्थिक जुटाएर अस्पतालले दाँत फेर्न पनि सेवा सुचारु गर्ने प्रमुख सुनारले बताउनुभयो ।
अस्पतालमा सेवा लिने बिरामी निकै खुसी छन् । डोटीका रोजबहादुर रोका दाँत निकाल्न अस्पतालमा जानुभयो । रारा भ्रमणमा आउनुभएका ७९ वर्षका रोका मगरको दाँत दुख्न थालेपछि जिल्ला अस्पतालमा गएर उपचार गर्नुभएको छ ।
जिल्ला अस्पताल कालीकोटमा डेन्टल सेवा सुरु बिरामीलाई उपचार गर्दै डा. रोहित गुरुङ्ग । तस्बिरः प्रेमराज सिम्खडा