लक्ष्मण पौडेल
भैरहवा, कात्तिक २९ गते । रुपन्देहीको दक्षिणी क्षेत्रका महिलाको स्त्री तथा प्रजनन् स्वास्थ्यसम्बन्धी समस्यालाई सुधार गर्न बुद्ध जन्मस्थल लुम्बिनीमा एक सय शैयाको अस्पताल बन्ने भएको छ ।
लुम्बिनी गार्डेन फाउन्डेशन, स्पेन र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच सम्झौता भएसँगै अस्पताल बन्ने निश्चित भएको हो । लुम्बिनी सांस्कृतिक नगरपालिका १० मा आधुनिक अस्पताल निर्माण हुने नगरप्रमुख मनमोहन चौधरीले बताउनुभयो । खासगरी लुम्बिनी र यस आसपासका क्षेत्रका महिलामा देखिने स्त्री तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्यालाई दृष्टिगत गर्दै अस्पताल निर्माणको तयारी भएको चौधरीले जानकारी दिनुभयो ।
लुम्बिनीमा आयोजना गरिएको एक कार्यक्रमबीच लुम्बिनी गार्डेन फाउण्डेशन, स्पेन र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच अस्पताल निर्माणको सम्झौता भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको पहलमा लुम्बिनी गार्डेन फाउण्डेशनले अस्पताल निर्माण गर्ने बताएको छ ।
लुम्बिनी गार्डेन फाउण्डेशनका महासचिव एकराज गिरीले अस्पताल निर्माणका लागि नगरपालिकाले जग्गाको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । सम्झौतामा हस्ताक्षर कार्यक्रममा बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले वडा नम्बर १० मा कम्तीमा एक महिनाभित्र जग्गाको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो । नगरप्रमुख चौधरीले अस्पताल निर्माणका लागि सबैको सहयोगले अगाडि बढ्ने बताउनुभयो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लुम्बिनी धेरै पछाडि परेको गुनासो भइरहेका बेला यो कामले अब केही काम अगाडि बढनेमा आशा जगाएको बताउनुभयो । उहाँले लुम्बिनीको विकासका लागि आफूहरु लागिपरेको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी गार्डेन फाउण्डेशन र नवलपरासीको सुनवल नगरपालिका र सुस्ता गाउँपालिका विभिन्न विषयमा सहयोग गर्नेगरी सम्झौता भएको छ । वातावरण, सरसफाइ, संस्कृति, कृषिलगायतका क्षेत्रमा सहकार्य हुनेगरी सम्झौता भएको हो । सम्झौतामा सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे र सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा क्षेत्री तथा लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोस म्यानुअल भिलानोभालेले हस्ताक्षर गर्नुभएको छ ।