logo
२०८१ मंसिर ८ शनिवार



चिसोसँगै जिल्ला अस्पतालमा विरामीको चाप बढ्यो

स्वास्थ्य |
प्रदेश |


चिसोसँगै जिल्ला अस्पतालमा विरामीको चाप बढ्यो


बेलिना थापा
लमजुङ, कात्तिक २९ गते । चिसो बढेसँगै जिल्ला अस्पताल लमजुङमा विरामीको चाप बढेको छ । मौसममा आएको परिवर्तनसँगै चिसो बढेपछि निमोनिया, रुघाखोकी र हाडजोर्नीका विरामीको चाप बढेको जिल्ला अस्पताल लमजुङले जनाएको छ ।

अस्पताल आउने अधिकांश विरामीमा निमोनिया, रुघाखोकी र हाडजोर्नीको समस्या देखिने गरेको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । हाल अस्पतालमा दैनिक २ सय देखि २ सय ५० जनासम्म विरामी आउनेगरेको उहाँले जानकारी दिनुभयो । विरामीमा ज्वरो रुघाखोकी, हाडजोर्नी, निमोनिया, पेट सम्बन्धी समस्या, महिला रोग सम्बन्धि समस्याहरु देखिएको उहाँको भनाई छ ।

अस्पतालमा आउनेमध्ये अधिकाशं बिरामी चिसोका कारण विभिन्न संक्रमणबाट बिरामी भएर आउने गरेको श्रेष्ठले बताउनुभयो । बढी मात्रामा दम, निमोनिया र ज्वरोका विरामी आउनेगरेका छन् उहाँले भन्नुभयो । श्वासप्रश्वास, रुघाखोकी लगायतका विरामी पनि आउने गरेको अस्पतालका मेडीकल अफिसर डा. विष्णु अर्यालले बताउनुभयो । उहाँकाअनुसार चिसोले बालबालिका र बृद्धबृद्धालाई बढी सताउने गरेको छ ।

सहर–बजारमा मात्रै नभएर ग्रामीण भेगमा पनि चिसोका कारण बिरामी हुनेको संख्या बढेको अस्पतालको भनाई छ । चिसोका कारण बृद्धबृद्धा र बालबालिका मात्रै नभएर बयस्कलाई पनि सताउने गरेको अर्यालले बताउनुभयो । अस्पतालमा अहिले दैनिक १५ जना विरामी भर्ना हुनेगरेको उहाँको भनाई छ । भर्ना भएकामध्ये अधिकाशंमा चिसोका कारण संक्रमण देखिएको छ ।

जिल्लामा पछिल्लो समय एपेण्डीसाइटिसको विरामीको संख्यामा पनि वृद्धी हुँदैगएको छ । जिल्ला अस्पताल लमजुङको तथ्याङ्कअनुसार दैनिक २ जनाको एपेण्डीसाइटिसको शल्यक्रिया गर्र्ने गरिएको अस्पताल प्रशासनले जनाएको छ । मौसम परिवर्तनसँगै वातावरणको आद्रतामा फेरबदल हुने भएकाले जाडो समयमा चिसोबाट विभिन्न खालका संक्रमण देखा पर्नेगरेको अस्पतालले जनाएको छ ।

यो समय शरीरको पहिरन र खानपानमा बढी ध्यान दिनुका साथै चिसोबाट बच्नु पर्ने चिकित्सकको सुझाव छ । बालबालिकालाई न्यानो राख्ने, चिसो पानीमा खेल्न नदिने, धुलोमैलो नखेल्ने, धुवाँ धुलोबाट जोगाउने, बृद्धबृद्धाले चुरोट, जाँडरक्सी नखाने, तातो सुप खाने गर्नाले रुघाखोकी, ज्वरो र निमोनियाबाट बच्न सकिने अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?