महिमा देवकोट, दृश्य मनोजरत्न शाही
काठमाडौं, मंसिर २ गते । स्वस्थ फोक्सो भन्ने अवधारणाका साथ बुधबार सीओपीडी मनाइएको छ । धेरै खोकी लाग्ने, सास फेर्न गाह्रो हुने लगायत फोक्सोसम्बन्धी स्वास्थ्य समस्यालाई सीओपीडी भनिनेवरिष्ठ छाती, श्वास प्रश्वास तथा निन्द्रा रोग विशेषज्ञ डा. अच्युतभक्त आचार्य बताउनुहुन्छ । धुम्रपान र प्रदूषित वातावरण यो रोगका मुख्य कारण हुन् ।
यो रोग लागेपछि खोकी लाग्ने खकार आउनेदेखि काम गर्दा तागत नआउने, निमोनिया हुने लगायतका अन्य संक्रमण पनि देखिने गर्दछन् । यो रोग लागिसकेपछि प्रायजसो ४० वर्ष उमेर कटिसकेका मानिसमा उमेर अनुसार फोक्सोको क्षमता पनि घट्दै जान्छ । ‘धुवाँ आउने फ्याक्ट्रीहरुमा काम गर्ने, जाडोमा आगो ताप्ने, दाउरामा खाना पकाउने जस्ता गतिविधिले फोक्सोको क्षमता झनै घटाउछ । ५० वर्षदेखि स्याँ–स्याँ हुने हुन्छ । उपचारका लागि निरन्तर अस्पताल आइरहनुपर्ने हुन्छ ।’, आचार्यले बताउनुभयो । विश्व स्वास्थ्य संगठनको मान्यताभन्दा नेपालमा वायु प्रदूषण अधिक रहेको हुँदापनि धुम्रपान नगर्नेहरुलाई पनि यो रोग लाग्ने सम्भावना बढी छ ।
कोभिड–१९ महामारीमा सिओपीडीको लक्षण छुट्याउन स्वास्थ्यकर्मी झुक्किने गरेको पनि उहाँको अनुभव छ । कोभिड र यस रोगको भिन्नताबारे जनचेतना जगाउन पनि आवश्यक रहेको उहाँको भनाइ छ । रोग लाग्नै नदिन मास्क लाउने लगायत फोक्सोको नियमित जाँच गराउनुपर्ने सुझाव उहाँको छ। रोग लागिसकेपछि पनि यसको उपचार गर्न भने सकिन्छ । तर, सिओपीडी लागेपछि मुटु, किड्नीको पनि समस्या बढ्ने सम्भावना भएकोले बेलैमा सजगता अप्नाउनुपर्ने उहाँकाे भनाइ छ ।