काठमाडौँ, मङ्सिर ४ गते । देशकै पुरानो वीर अस्पतालले बिरामीको टिकट वितरणमा डिजिटल सेवाको सुरुवात गरेको छ ।
शुक्रबारदेखि अस्पतालले मोबाइल एप्लिकेसनमार्फत् अनलाइन टिकट लिन सक्ने गरी सेवा विस्तार गरेको हो ।
यो सेवा लिनको लागि बिरामीले मोबाइलको प्लेस्टोरबाट ‘वीर अस्पताल’ एप्लिकेसन डाउनलोड गर्नुपर्छ । अब घरबाटै टिकट काट्ने र आफूलाई आवश्यक पर्ने चिकित्सकसँग समय लिन सक्ने वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
डा बस्नेतका अनुसार ई–सेवा वा खल्तीमार्फत टिकट शुल्क तिरेपछि बिरामीले अस्पतालको ओ.पी.डीमा सेवा लिन सक्नुहुन्छ ।
अस्पतालले यसअघि नै ल्याब रिपोर्ट अनलाइनमार्फत नै हेर्न मिल्ने व्यवस्था गरेको डा बस्नेतले जानकारी दिनुभयो। वीर अस्पताललाई डिजिटलाइज गर्ने उद्देश्यले अनलाइनमार्फत सेवा सञ्चालन गरिएको डा. बस्नेतको भनाइ छ ।