दिपकप्रसाद गौतम
वीरगञ्ज, मंसिर ८ गते । वीरगञ्जमा रहेको नारायणी अस्पतालमा बिगत चार वर्षदेखि क्याथल्याब सञ्चालन गर्न आएको करिब ५ करोड रुपियाँको औजार उपकरण थन्किएर रहेको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बीरेन्द्र प्रधानले क्याथल्याब सञ्चालन गर्ने भवन निर्माण गर्ने अन्तिम तयारी रहेको केहीदिनभित्र शिलान्याश गरिने बताउँदै भवन अभावमा क्याथल्याबका लागि आएको औजार उपकरण अस्पतालको गोदाम घरमा थन्किएर रहेको जानकारी दिनुभयो ।
त्यस्तै, नारायणी अस्पतालमा बिगत ६ महिनादेखि सिटीस्क्यान मेसिन थन्किएर रहेको छ । कोभिड समयमा उपचारकालागि सहज होस् भनी अस्पतालमा आइपुगेको नयाँ सिटिस्क्यान मेसिन हालसम्म जडान हुन नसकेको अस्पतालले जनाएको छ ।
नारायणी अस्पतालमा पहिले सञ्चालनमा रहेपनि करिब ५ वर्षदेखि सिटीस्क्यान मेसिन बिग्रिएपछि मरम्मत नभएपछि सेवा प्रभावित हुँदैआएको छ । नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभले सिटीस्क्यान मेसिन मरमत गर्न करिब ५० लाख रुपियाँ खर्च लाग्ने बताउनुभयो । कोभिड समयमा आएको मेसिन जडान गरेर सेवा छिट्टै सुचारु गरिने उहाँले बताउनुभयो ।
त्यस्तै, नारायणी अस्पतालमा हुनेगरेको राम्रै अवस्थामा अडियोग्राम मेसिनबाट गरिने अडियोग्राम जाँच समेत एक वर्षदेखि बन्द छ । सो फाँटमा काम गर्ने कर्मचारीको पेन्सन भइसकेकाले अर्का कर्मचारीको पदस्थापना गर्न नसक्दा अडियोग्राम जाँच एक वर्षदेखि बन्द छ ।
अस्पतालमा अडियोग्राम जाँच गर्नसक्ने तालिमप्राप्त जनशक्ति हुदाँहुँदै पनि अस्पतालका मेसु र अस्पताल विकास समितिका अध्यक्षले चासो नदिंदा कर्मचारीको पदस्थापना हुन नसकी अस्पतालको सेवा नै बन्द रहेको छ ।
अस्पतालमा सेवा बन्द हुदाँ २५ सयमा हुने सिटीस्क्यानका लागि सर्वसाधारणले पाँच हजार रुपियाँमा नीजि ल्याबमा खर्चन बाध्य भएका छन् । सोहीअनुसार अस्पतालमा ३५० रुपियाँमा हुने अडियोग्राम जाँच बाहिर नीजिमा गराउदा बिरामीहरुले ८ सय रुपियाँ तिर्न बाध्य हुनुभएको छ । जाँच लेख्ने चिकित्सकले ५० प्रतिशत कमिशन लिने गरेकाले नीजि ल्याबको शुल्क सरकारी अस्पतालभन्दा दोब्बर हुनेगरेको एक ल्याब सञ्चालकले जानकारी दिनुभयो ।
नारायणी अस्पताल २०४२ सालमा सय बेडबाट अनुमति पाई सञ्चालनमा रहेको छ । २०५२ सालमा २०० बेड हुँदै २०७६–७७ मा ५०० बेडको अस्पतालको रुपमा विकास भएको छ ।