logo
२०८१ मंसिर १२ बुधवार

  दृश्य समाचार  



'जाडोमा पानी कम पिउनाले छाला सुख्खा हुन्छ ’

स्वास्थ्य |


'जाडोमा पानी कम पिउनाले छाला सुख्खा हुन्छ ’


सिर्जना खत्री, दृश्य मनोजरत्न शाही/केशव गुरुङ्ग

काठमाडौँ, मङ्सिर ८ गते । गर्मीमा विभिन्न संक्रमणजन्य रोग लागेजस्तै जाडो मौसममा छालामा विभिन्न समस्या देखिने गर्छन् । हातखुट्टा फुट्ने, सुन्निने, छालामा निलो, रातो डाम देखिने जस्ता समस्या देखिने छाला रोग विशेषज्ञ प्रा. डा. सविना भट्टराई बताउनुहुन्छ ।जाडो मौसममा हामीले घामबढी ताप्ने हुँदा छाला सुख्खा हुने, चाया पर्ने, कालो दाग बढीमात्र देखिने भट्टराईको भनाइ छ ।

चिसोमा आवश्यक मात्रामा शरीरमा पानीको मात्रा पुग्दैन, यसले गर्दा छाला रुखो हुन्छ । लभना स्कीन एण्ड हेयर क्लिनिककी कार्यकारी निर्देशकसमेत रहनुभएकी डा.भट्टराईका अनुसार मौसमसँगै जाडोमा वायुको आर्द्रता कम हुन्छ । मानिस अनुसार फरकफरक छाला हुन्छ । छाला अनुसार मोइस्चराइजर क्रिम लगाउनु पर्ने डा. भट्टराईको सुझाव छ।

जाडोमा तिर्खा लाग्दैन तर धेरै घाम ताप्ने हुँदा हाम्रो शरीरमा पानी सुक्दै जान्छ । त्यसैले एकदेखि डेढ लिटर पानी पिउनुका साथै झोलिलो खानेकुरा खान डा. भट्टराई आग्रह गर्नुहुन्छ ।

जाडोमा छाला सुक्खा हुन नदिन मोइस्चराइजर क्रिमको प्रयोग नभए नरिवलको तेल वा वोलिभको आयलको नियमित प्रयोग गर्न डा. भट्टराईको सुझाव छ। त्यसैगरी घाम ताप्दा घामतिर मुख नफकाई बस्न डा भट्टराईको सुझाव छ। डा. भट्टराईका अनुसार जाडोमा नुहाउँदा मनतातो पानीले नुहाएर अलिअलि पुछेर तेल, लोसन लगाउनुपर्छ ।

जाडोमा चिसोबाट बच्न ऊनबाट बनेका बाक्लो लुगा लगाउँदा शरीर सुख्खा हुने भएकाले शरीर छाेप्नेगरी सुतीको पातलो लुगा लगाउन चिकित्सकले सुझाव दिएका छन् । जाडो मौसममा खानपानमा विशेष ध्यान दिनुपर्छ भने हरियो सागसब्जीमा बढी जोड दिनुपर्छ । मौसमी फलफूल सेवन गर्दा जाडोमा छालालाई स्वास्थ्य राख्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

गाउँघर तथा हिमाली क्षेत्रमा बस्ने प्रायको हात, खुट्टाका औँला रातो भएर सुन्निने, गाला फुट्ने समस्याले सताउने गर्छ । त्यसको उपचारका लागि घरमा पाइने नाैनी राख्ने डाक्टर भट्टराईको सुझाव छ । सुख्खा हुनबाट जोगाउनका निम्ति हातखुट्टामा न्यानो पञ्जा तथा मोजा लगाउनुपर्छ । छालाको प्रकृति हेरेर मोस्चराइजर क्रिम र लोसन प्रयोग गर्नुपर्छ । सकेसम्म विशेषज्ञको सल्लाहमा मोस्चराइजर क्रिम वा लोसनको प्रयोग गर्दा राम्रो हुन्छ । छाला सुख्खा राख्न बजारमा पाइने क्रिम उपलब्ध नघए गाउँघरमा उत्पादन हुने घिउ वा तेल लगाउन पनि सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?