logo
२०८१ मंसिर ८ शनिवार



एचआईभी दुर्व्यसनीलाई निःशुल्क सुई

स्वास्थ्य |
प्रदेश |


एचआईभी दुर्व्यसनीलाई निःशुल्क सुई


नवीन शिशिर विक
बागलुङ, मङ्सिर १५ गते । बागलुङमा एचआईभी एड्सको औषधी नियमित सेवन गर्नेहरु १७० जना रहनुभएको छ । धौलागिरि अस्पतालको एआरटी सेन्टरबाट औषधी खानेमा बागलुङ, पर्वत र म्याग्दीका सङ्क्रमित पनि समावेश छन् । हाल औषधी सेवन गर्ने पुराना तथा नयाँ संङ्क्रमितमध्ये अधिकांशको सङ्क्रमणको स्रोत असुरक्षित यौन सम्बन्ध हो ।

स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौकाअनुसार सङ्क्रमितमध्ये वैदेशिक रोजगार (विशेषगरी भातर) बाट फर्केका कामदार छन् । कामको सिलसिलामा लामो समय विदेश रहँदा गन्तव्य मुलुकमा भएको असुरक्षित यौन सम्बन्धबाट सङ्क्रमण भएको बिरामीहरुले बताउने गरेका छन् । असुरक्षित यौन सम्बन्धपछि सङ्क्रमणको दोस्रो स्रोत सुई साटासाट देखिएको छ ।

लागुऔषध प्रयोगकर्ताले एक जनाले प्रयोग गर्ने सुई अन्य साथीसँग आलोपालो लगाउँदा त्यसको मध्यमबाट एचआइभी सङ्क्रमण भएको घटना खुलेको स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन देवप्रकास घिमिरले बताउनुभयो । सुईको मध्यमबाट सर्ने एचआइभी रोकथाम तथा न्यूनीकरणको लागि सिरिन्ज एक्सेन्ज परियोजनाले जिल्लामा लागुऔषध प्रयोगकर्तालाई निःशुल्क सुई उपलब्ध गराउँदै आएको छ ।

परियोजनाका प्रमुख प्रदीप जिसीकाअनुसार संस्थाबाट १०८ जनाले नियमित सुई सेवा लिनेगरेको छन् । सङ्क्रमितलाई आवश्यकताको आधारमा संस्थाले सुई उपलब्ध गराउँछ । झट्ट हेर्दा लागुऔषधी प्रयोगलाई प्रोत्साहनजस्तो देखिए पनि स्वास्थ्य सुरक्षाको दृष्टिले उक्त कार्यक्रम प्रभावकारी भएको जिसीको भनाई छ । ‘खाने मान्छेले जसरी पनि खान्छ, जिसीले भन्नुभयो –‘नखाई नछोडनेलाई सुरक्षित बनाउन कार्यक्रम सञ्चालन गरिएको हो ।’

सङ्क्रमितलाई नियमित औषधी सेवन गर्न प्रोत्साहनका लागि धौलागिरि पोजेटिभ समुहले औषधी लिन सदरमुकाम आउने र बास बस्नुपर्ने बिरामीलाई खाने बस्ने निःशुल्क व्यवस्थापन गरेको छ । पोजेटिभ समुहका योजना तथा कार्यक्रम अधिकृत पूर्णबहादुर थापाका अनुसार संस्थामा १५५ जनाले नियमित सेवा लिएका छन् ।

होटलमा खाना बस्ने पैसाको समस्यले बिरामी औषधी लिन नआउने समस्या बढेपछि आवासीय कार्यक्रम सञ्चालन गरेको थापाले बताउनुभयो । समुहले १८ वर्षमुनिका सङ्क्रमित बालबालिकालाई मासिक एक हजार रुपियाँ भत्ता उपलब्ध गराउँदै आएको छ । हेला र भेदभावको कारण समाजमा अझै पनि सङ्क्रमित खुल्न सकेका छैनन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?