काठमाडौं, मङसिर १६ गते । कोभिड–१९ युनिफाइड ‘वीर’ अस्पतालले आजदेखि ‘टेलिमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको छ । कोरोनाको उपचार प्रभावकारी बनाउने उद्देश्यले अस्पतालले ‘टेलिमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको अस्पतालले जनाएको हो ।
स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको सहयोगमा अस्पतालले बिहीबारदेखि ‘टेलिमेडिसिन सेवा’ सञ्चालनमा ल्याएको अस्पतालका प्रमुख डा. भुपेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।
उहाँले कोभिड–१९ सम्बन्धी समस्या र जिज्ञासा सुनेर फोनबाटै परामर्श गर्नका लागि टेलिकल्सन्टेसन सेन्टर सुरु गरिएको जानकारी दिनुभयो । सेन्टरबाट स्वास्थ्य सेवा लिनका लागि ११३३ मा फोन गर्नुपर्ने हुन्छ ।
‘घरमा बसेका बिरामीले केही परामर्श तथा उपचार सेवा लिनका लागि टेलिमेडिसिन सेवा धेरै प्रभावकारी हुन्छ,’ डा.बस्नेतले भन्नुभयो ।
डा. बस्नेतका अनुसार विशेषज्ञ चिकित्सकले ‘टेलिमेडिसिन सेवा’ को माध्यमबाट बिरामीले आवश्यक परामर्श तथा उपचार सेवा प्रदान गर्ने छन् ।
टेलिकल्सन्टेसन सेन्टरमा २४ घण्टा सञ्चालन हुनेछ । तीन सिफ्टमा सञ्चालन हुने टेलिकल्सन्टेसन सेन्टरमा अहिले एक सिफ्टमा एक जना चिकित्सक र दुई जना पारामेडिसिने छन् । टेलिकल्सन्टेसन सेन्टरमा अहिले एकैपटकमा तीनजना व्यक्तिले फोन गरी सेवा लिनसक्ने छन् ।
मन्त्रालयमा २०७६ चैत ११ गतेदेखि कोभिड–१९ लाई लक्षित गरी कलसेन्टर सञ्चालन गरिएको थियो । कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) देखा परेको अवस्थामा टेलिमेडिसिन सेवा प्रभावकारी हुने चिकित्सकले बताएका छन् ।
हाल वीरमा कोभिडका लागि दुई सय बेड सञ्चालनमा छन । जसमा एक सय जनरल, ५० आइसीयू र ५० एचडीयू बेड सञ्चालनमा छन् ।