logo
२०८१ बैशाख ७ शुक्रवार



बहसमा बुष्टर डोज : सुरुमा लक्षित समूहलाई खोप दिन विज्ञको सुझाव

स्वास्थ्य |
मुख्य समाचार |


बहसमा बुष्टर डोज : सुरुमा लक्षित समूहलाई खोप दिन विज्ञको सुझाव


काठमाडौं,मङसिर १९ गते । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन’विश्वका विभिन्न देशमा फैलिन थालेपछि खोपको बहस फेरि उत्कर्षमा पुगेको छ । केही वैज्ञानिकले अहिलेको नयाँ भेरियन्टले खोपलाई नै छल्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेका छन् । केही वैज्ञानिकले अहिलेको खोपले नयाँ भेरियन्टको सङ्क्रमणबाट जोगाउन सक्ने बताइरहेका छन् ।

कोरोना भाइरसविरुद्ध विकसित भएका खोपको पूर्णमात्रा लगाएकालाई बुष्टर डोज दिन विज्ञले सुझाव दिएका छन् । कतिपय देशले आफ्ना नागरिकलाई बुष्टर डोज दिन सुरु गरिसकेका छन् । बेलायत र अमेरिकाले आफ्ना नागरिकलाई बुष्टर डोज दिन थालेका छन् । कोरोनाविरुद्ध विकसित भएका खोपको पूर्ण मात्रा लगाइसकेका व्यक्तिले बुष्टर डोज लगाउदा उपयुक्त हुने विज्ञको भनाइ छ ।

यता नेपालमा पनि बुष्टर डोजबारे बहस सुरु हुन थालेको छ । कोभि विरुद्धको खोप लगाएको छ महिना कटेपछि एन्टिबडीको मात्रा विस्तारै घट्दै जाने भएकाले बुष्टर डोज लगाउनुपर्ने बहस सुरु भएको हो ।

मन्त्रालयसँग ८३ लाख खोप बाँकी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकमा अब ८३ लाख खोप मात्र बाँकी रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार विभिन्न देशबाट कोभ्याक्स सुविधा, अनुदान र खरिदमार्फत दुई करोड ७३ लाख ५६ हजार ५३० डोज खोप विभिन्न कम्पनीबाट ल्याइएको छ । आएको मध्ये १ करोड ९० लाख डोज खोप प्रयोगमा आइसकेको उहाँले जानकारी दिनुभयो । अहिले मन्त्रालयमा बुष्टर डोजको बारेमा कुनै छलफल पनि नभएको उहाँको भनाइ छ ।

अहिले मन्त्रालयमा बुष्टर डोजको विषयमा केही छलफल नै भएको छैन’, उहाँले भन्नुभयो, ‘अहिले हाम्रो प्राथमिकता पूर्णमात्रा खोपमा नै छ ।’विज्ञको सुझावका आधारमा मात्र बुष्टर डोज खोपको बारेमा मन्त्रालयले धारणा बनाउने उहाँले जानकारी दिनुभयो ।

साढे तीन करोड खोप पाइपलाइनमा
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार कोरोना भाइरस विरुद्धको साढे तीन करोड खोप नेपाल आउने तयारीमा छ । पुस महिनाभित्र विभिन्न देशबाट भेरोसेल, फाइजर, मोडेर्ना कम्पनीका खोप नेपाल आइपुग्नेछ ।

सुरुमा लक्षित समूहलाई खोप : विज्ञ
जनस्वास्थ्यविद्ले पहिले लक्षित समूहलाई खोप प्रदान गरेर मात्र बुष्टर डोज दिनुपर्ने बताएका छन् । खोप विज्ञ डा.श्यामराज उप्रेती अधिकांश नागरिकले पहिलो मात्रा खोप नै नपाएको अवस्थामा बुष्टर डोज खोपको कुरा गर्नु न्यायोचित नहुने बताउनुहुन्छ । ‘लक्षित जनसंख्यामध्ये धेरैले पहिलो मात्रा नै लगाएका छैनन्। यस्तो अवस्थामा पूर्ण मात्रा लगाएकालाई बुष्टर डोज दिँदा खोप नै नलगाउनेलाई अन्याय हुन्छ । त्यसाे गर्नुहुँदैन,’ उहाँले भन्नुभयो ।

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित खोपलाई सबै नागरिकसामु पुर्याएर मात्र बुष्टर डोजको बारेमा सोच्न्पर्ने बताउनुहुन्छ । लक्षित जनसङ्ख्याको ७५ प्रतिशतले खोप नलगाएसम्म सुरक्षित हुन नसक्ने भएकाले अहिले बुष्टर डोज भन्दा खोप सुनिश्चिततामै ध्यान दिनु जरुरी रहेको उहाँको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनले पनि लक्षित जनसङ्ख्यामा खोप पुगेपछि मात्र बुष्टर डोज लगाउन सकिने बताउनुभयो ।

जनस्यास्थ्यविद् डा.शरदकुमार वन्तले समेत पहिले खोप नलगाएकालाई समेटेर मात्र बुष्टर डोजमा जान सकिने बताउनुभएको छ । खोपलाई कोभिड नियन्त्रण गर्नसक्ने अस्त्रको रुपमा नलिगेर स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा पनि ध्यान दिनु जरुरी रहेको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?