काठमाडौं, मङ्सिर २२ गते । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को परीक्षा नियन्त्रण कार्यलय (सीटीइभीटी)ले नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको छ ।
सीटीइभीटीले बुधबार सूचना जारी गर्दै शैक्षिक सत्र २०७८/०७९ को नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको हो ।
सीटीइभीटीले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल मोरङ, नेसनल मेडिकल कलेज पर्सा, बि एन्ड बि र्सिङ कलेज ललितपुर, नागरिक कम्युनिटी टिचिङ हस्पिटल भक्तपुर, नारायणी सामुदायिक अस्पिटल चितवन, कलेज अफ मेडिकल साइन्स चितवन, अल्का इन्स्टिच्युट अफ मेडिकल साइन्स (अल्का अस्पिटल) ललितपुर, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौं, काठमाडौं मोडेल हस्पिटल, मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स ललितपुर, ओम हेल्थ क्याम्पस काठमाडौं, मणिपाल कलेज अफ मेडिकल साइन्स कास्की, लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ अस्पताल पाल्पा, देवदह मेडिकल कलेज एण्ड रिसर्च सेन्टर रुपन्देही र नेपालगञ्ज नर्सिङ क्याम्पस बाँकेलाई निर्देशन दिएको हो ।
चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ र चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको निर्णय अनुसार यस्तो निर्णय गरिएको सीटीइभीटीले जनाएको छ ।
साथै विद्यार्थीबाट लिएको शुल्क पनि फिर्ता गर्न सीटीइभीटीले १५ वटा कलेजलाई आग्रह गरेको छ ।