logo
२०८१ मंसिर १० सोमवार



वडामै कारोनाविरुद्धको खोप उपलब्ध भएपछि नागरिकलाई सुविधा

स्वास्थ्य |
समाज |


वडामै कारोनाविरुद्धको खोप उपलब्ध भएपछि नागरिकलाई सुविधा
वडा स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउँदै वृद्ध महिला । तस्बिर - विजयकुमार साह, ढल्केवर


विजयकुमार साह
ढल्केबर, मङ्सिर २७ गते । धनुषाका वडाहरुमा सञ्चालित स्वास्थ्य चौकीबाटै कोरोनाविरुद्धको खोप उपलब्ध भएपछि नागरिकलाई सहज भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धनुषाले वडा स्वास्थ्य केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था मिलाएपछि नागरिकलाई सुविधा भएको हो ।
स्वास्थ्य कार्यालय धनुषाले जिल्लाका १६९ वडामध्ये सबै वडामा खोप केन्द्र सञ्चालन गरेको छ । निश्चित ठाउँमा खोप केन्द्र राख्दा नागरिकले कष्ट व्यहोर्नुपरेको थियो । निश्चित ठाउँमा खोप केन्द्र राख्दा बिशेषगरी वृद्धवृद्धा, अपाङ्ग र महिलालाई समस्या हुने गरेको स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले बताउनुभयो ।
धेरै ठाउँमा खोप केन्द्र हुँदा मानिसको भिडभाड कम हुने र व्यवस्थापनमा सहज भएको भन्नुभयो । एउटा खोप केन्द्रमा एक जना खोप लगाउने कार्यकर्ता र दुई जना सहयोगी परिचालन गरिएको अधिकृत यादवले भन्नुभयो ।
धनुषामा १८ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई मङ्सिर २४ गतेबाट भेरोसेल खोप र विगतमा एक डोज लगाएका व्यक्तिहरुले पनि दोस्रो डोज लगाइरहेको अधिकृत यादवले जानकारी दिनुभयो ।
१८ वर्ष र सोभन्दा माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्ध खोपको पहिलो र दोस्रो मात्रा मंसिर १६ देखि २९ गतेसम्म स्वास्थ्य कार्यालयमा नै लगाइँदैछ ।
धनुषा जिल्लाको कुल जनसङ्ख्या ८ लाख ४७ हजार आठ सय रहेकोमा अहिलेसम्म खोपको पहिलो मात्रा १ लाख ७३ हजार ८४ र दोस्रो मात्रा १ लाख ३७ हजार ६४ जना गरी जम्मा ३ लाख १० हजार १४८ जनाले लगाइसकेका छन् ।
जसमध्ये १८ वर्षभन्दा माथिको उमेर समूहका १ लाख ३७ हजार ६४ जना र १२ देखि १७ वर्ष उमेर समूहका एक हजार सात सय जना छन् । जिल्लामा १८ वर्षभन्दा माथिको उमेर समूहका चार लाख १८ हजार ९२३ र १२ देखि १७ वर्ष उमेर समूहका ९४ हजार ४३२ जना अझै खोप लगाउन बाँकी रहेका छन् । अहिलेसम्म जिल्लाका ३२ प्रतिशत नागरिकले पूर्ण र ३६ प्रतिशतले एक डोज खोप लगाएका छन् ।
जिल्लामा कोभिसिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन, एस्ट्राजेनेका र फाइजर गरी पाँच प्रकारका खोप लगाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?