विजयकुमार साह
ढल्केबर, मङ्सिर २७ गते । धनुषाका वडाहरुमा सञ्चालित स्वास्थ्य केन्द्र तथा थप खोप केन्द्र स्थापना गरेर कोरोनाविरुद्धको खोप उपलब्ध भएपछि नागरिकलाई सहज भएको छ । जिल्ला स्वास्थ्य कार्यालय धनुषाले वडा स्वास्थ्य केन्द्र र सोही वडाको दुई–तीन स्थानबाट कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था मिलाएपछि नागरिकलाई सुविधा भएको हो ।
‘स्वास्थ्य कार्यालय धनुषाले जिल्लाका १६९ वडाको ६३१ स्थानमा खोप केन्द्र सञ्चालन गरेको छ । निश्चित ठाउँमा खोप केन्द्र राख्दा नागरिकले कष्ट व्यहोर्नुपरेको थियो । विशेषगरी वृद्धवृद्धा, अपाङ्गता भएका र महिलालाई समस्या हुनेगरेको थियो । अहिले सबैलाई सहज भएको छ, स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले बताउनुभयो ।
धेरै ठाउँमा खोप केन्द्र हुँदा मानिसको भिडभाड कम हुने र व्यवस्थापनमा सहज भएको भन्नुभयो । एउटा खोप केन्द्रमा एक जना खोप लगाउने कार्यकर्ता र दुई जना सहयोगी परिचालिन गरिएको अधिकृत यादवले बताउनुभयो ।
धनुषामा १८ वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई मङ्सिर २४ गतेबाट भेरोसेल खोप र विगतमा एक डोज लगाएका व्यक्तिले पनि दोस्रो डोज लगाइरहेको अधिकृत यादवले जानकारी दिनुभयो । आफ्नै टोलमा सञ्चालित खोप केन्द्रबाट कोरोनाविरुद्ध खोप उपलब्ध भएपछि भिडभाडमा घण्टौं लाइन लाग्नुपर्ने झन्झट नभएको महिला चन्द्रकुमारी भट्टराईले बताउनुभयो ।
१८ वर्ष र सोभन्दा माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्ध खोपको पहिलो र दोस्रो मात्रा मंसिर १६ देखि २९ गतेसम्म स्वास्थ्य कार्यालयमा लगाइँदै आएको थियो । धनुषाको कूल जनसंख्या ८ लाख ४७ हजार ८ सय रहेकोमा अहिलेसम्म खोपको पहिलो मात्रा १ लाख ७३ हजार ८४ र दोस्रो मात्रा १ लाख ३७ हजार ६४ जना गरी जम्मा ३ लाख १० हजार १४८ जनाले लगाइसकेका छन् ।
जसमध्ये १८ वर्षभन्दा माथिको उमेर समूहका १ लाख ३७ हजार ६४ जना र १२ देखि १७ वर्ष उमेर समूहका १ हजार ७ सय व्यक्ति रहेका छन् । जिल्लामा १८ वर्षभन्दा माथिको उमेर समूहका ४ लाख १८ हजार ९२३ र १२ देखि १७ वर्ष उमेर समूहका ९४ हजार ४३२ जना अझै खोप लगाउन बाँकी छन् । अहिलेसम्म जिल्लाका ३२ प्रतिशत नागरिकले पूर्ण र ३६ प्रतिशतले एक डोज खोप लगाएका छन् । जिल्लामा कोभिसिल्ड, भेरोसेल, जोनसन एण्ड जोनसन, एस्ट्राजेनेका र फाइजर गरी पाँच प्रकारका खोप लगाइएको छ ।