logo
२०८१ मंसिर ११ मंगलवार



नेपालमा भित्रियो ‘बाइ प्लेन क्याथल्याब’ : ‘न्यूरो इन्टरभेन्सन’ सेवा सुरु

स्वास्थ्य |


नेपालमा भित्रियो ‘बाइ प्लेन क्याथल्याब’ : ‘न्यूरो इन्टरभेन्सन’ सेवा सुरु


काठमाडौं, मङ्सिर २८ गते । तपाईलाई मस्तिष्काघात अथवा पक्षघात भयो ? नआत्तिहोस् तर जतिसक्दो छिटो विशेषज्ञ उपचार सेवा र प्रविधिका पहुँचमा पुग्ने प्रयास गर्नुहोला । यसो भएमा पूर्ववत् अवस्थामा फर्किने सम्भावना । साथै ‘प्यारालाइसिल’ हुनबाट जोगिन पनिसकिन्छ ।

यसका लागि नेपालमा पहिलो पटक ‘बाइ प्लेन क्याथल्याब’ मार्फत‘न्यूरो इन्टरभेन्सन’ सेवाको सुरुआत भइसकेको छ । अत्याधुनिक तथा विश्वस्तरीय सो उपकरणलाई बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्यूरो हस्पिटलले विगत एकवर्षदेखि सञ्चालनमा ल्याएको हो । सोही अस्पतालमा विगत एकवर्षदेखि न्यूरो इन्टरभेन्सन सेवा प्रदान गर्दै आइरहनु भएका इन्टरभेन्सनल न्यूरो रेडियोलोजिष्ट डा. सुवास फुयालका अनुसार इन्डोभास्कुलर वा न्यूरो इन्टरर्भेन्सन भनेको बिना शल्यक्रिया क्याथेटरको माध्यमबाट बन्द भएको मस्तिष्कको नसा खोल्ने वा फुटेको मस्तिष्कको नसालाई रिपेयर गर्ने पद्धति हो । यस प्रविधिमा हात वा खुट्टाको नसाबाट क्याथेटर पठाएर मस्तिष्कको नसाभित्र जमेको रगत थेग्लो निकालिन्छ । टाउको नखोलिकन नै मस्तिष्कभित्रको गहिराइमा रहेको रक्तनलीभित्र शल्यक्रिया गरिन्छ र बिरामीलाई सञ्चो बनाइन्छ ।

उहाँ अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेज नयाँ दिल्लीबाट न्यूरो इन्टरभेन्सनमा डीएम उपाधि हासिल गर्ने पहिलो नेपाली चिकित्सक हुनुहुन्छ । उहाँले भन्नुभयो “यस पद्धतिमा शल्यक्रियाका लागि टाउको नखोलिने भएकाले बिरामीलाई छिट्टै घर पठाउन सकिन्छ । उपचारमा जोखिम धेरै कम हुन्छ । मस्तिष्कको समस्या जस्तै, मस्तिष्कघात, एन्युरिजम (रक्तनलीको फोको), घाँटीको नसा सुक्ने, मेरुदण्डको नसासम्बन्धी समस्यामा न्यूरो इन्टरभेन्सन पद्धतिबाट उपचार गर्न सकिन्छ । ”

चिकित्सकका अनुसार उच्च रक्तचापका कारण मस्तिष्कको नसा कमजोर भई ‘ब्रेन हेमोरेज’ पनि हुनसक्छ । यसो हुँदा विगतमा टाउको खोलेर फुटेको नसा सिलाइन्थ्यो । यसरी टाउको खोलेर शल्यक्रिया गर्दा जटिलताका साथ–साथै अस्पतालको बसाई पनि लम्बिन्थ्यो । तर अहिले एन्युरिज्मका कारण हुने ब्रेन हेमोरेज भएका व्यक्तिलाई तारको माध्यमबाट खुट्टाको नसा हुँदै च्यातिएको नसा भित्रभित्रै सिलाइन्छ । यसलाई क्वाइलिङ्ग भनिन्छ । यस्ता बिरामीहरुलाई साधारणतया ५–७ दिनभित्र घर पठाउन सकिन्छ । डा. फुयालले भन्नुभयो “ तार (क्याथेटर) को माध्यमबाट शल्यक्रिया गर्दा इन्फेक्सन हुने, लामो समयसम्म सघन उपचार कक्ष (आइसियू)मा बस्नुपर्नेलगायतका समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । ”

अस्पतालका कार्यकारी अध्यक्ष प्रा डा मधु दीक्षित देवकोटाका अनुसार एकवर्षका अवधिमा लगभग पाँच सय बिरामीले‘बाइ प्लेन क्याथल्याब’ मार्फत ‘न्यूरो इन्टरभेन्सन’ सेवा लिइसकेका छन् । क्याथल्याब मार्फत मस्तिष्क भित्रको रक्तनलीसम्बन्धी रोग जस्तै नसा बन्द हुनु, रगतको नसाको फुकुण्डो फुट्नु र रगतको गुच्छा, घाँटीको नसा (क्यारोटिड) सुक्नु आदिको सफल उपचार भएको छ । यी सेवा प्रदान गर्न प्राविधिक रुपमा अत्यन्त चुनौतीपूर्ण मानिन्छ । उहाँले भन्नुभयो “जीवनशैली, तथा खानपानमा आएको परिवर्तन, हिँडडुल र शारीरिक व्यायामको कमी, मद्यपान र धूमपानको बानीले गर्दा रगतमा बोसोको मात्रा बढी हुँदा यसले रक्तनलीको रोग निम्त्याउँछ । यसले गर्दा उच्च रक्तचाप, मस्तिष्कघात र मुटुको समस्यामा वृद्धि भएको छ ।”

डा. फुयालले भन्नुभयो “न्यूरो इन्टरभेन्सन पद्धतिमा औषधिको प्रयोगबाट थ्रम्बोलाइसिस गरी रगतको थेग्लो पगाल्ने गरिन्छ । यसका लागि मस्तिष्कघात भएको साढे चार घण्टाभित्र बिरामीलाई अस्पताल पु¥याउन आवश्यक छ । तर अहिले क्याथल्याब आइसकेपछि थ्रम्बेक्टोमीको पद्धतिबाट २४ घण्टासम्म पनि यस्ता बिरामीलाई अस्पताल पर्‍याउन सकेमा बन्द भएको ठूलो रगतको नसाबाट थेग्लो निकालेर बिरामीलाई पूर्ववत् अवस्थामा ल्याउन सम्भव भएको छ ।”

अपत्यारिलो चमत्कार

हालै सो अस्पतालमा न्यूरो इन्टरभेन्सन सेवामार्फत मस्तिष्काघात भएर निको हुनुभएका ३७ वर्षीय अर्जुन बस्नेतले भन्नुभयो “ म हिँडिरहेको थिएँ, एक्कासी असजिलो महशुस भई सडकमै ढलेछु । ढलेको देख्ने र श्रीमतीले न्यूरो अस्पताल पुर्‍याएछन् । मलाई केही थाहा थिएन । तुरुन्त अस्पतालमा मेरो उपचार शुरु भएछ । राति थम्बेक्टोमी गरेर नसाको माध्यमबाट मस्तिष्कमा जमेको रगतको थेग्ला (ब्लड क्लट) निकालिएछ । फलस्वरुप राति १२ बजेतिर मेरो बोली फिर्ता आयो । यो बेलासम्म मैले आफूलाई सामान्य अनुभव गर्न थालिसकेको थिएँ । मलाई मस्तिष्काघात भएको र यति चाँडै निको भएको कुरा अस्पतालमा भेट्न आउने आफन्तले समेत पत्याएनन्।”बुझ्दा, उहाँकी आमा पनि मस्तिष्काघात भई ‘प्यारालाइसिस’बाट जीवन गुजारिरहुनुभएको रहेछ । उहाँले भन्नुभयो “मेरो पनि आमा जस्तै प्यारालाइज्ड भएर जीवनभर बाँच्नुपर्ने अवस्था हुनसक्थ्यो ।नयाँ प्रविधिकै कारण समयमा नै सही उपचार पाएँ र १० दिनभित्र काममा फर्किएर कमाउन सक्ने भएको छु । यस प्रकारको उपचार नपाएको भए सायद जीवनभर खर्चै खर्चमा बाँच्नुपर्थ्याे र परिवारको पनि बिचल्ली हुने थियो होला । मेरो उपचार त अपत्यारिलो चमत्कार नै भयो ।”

के हो मस्तिष्काघात ?

मस्तिष्क शरिरको सबैभन्दा महत्वपूर्ण अङ्ग हो । यसमा अरबौ कोशिका हुन्छन् जिनलाई निरन्तर पोषण र अक्सिजन आवश्यक पर्दछ । यो रक्तनलीको माध्यमबाट मस्तिष्कमा पुग्दछ । डा. फुयाल भन्नुहुन्छ “ मस्तिष्कको रक्तनलीमा अवरोध भए वा त्यो फुट्न गएमा मस्तिष्कमा रगत आपूर्ती कम भई स्नायु कोषिकाहरुमा तत्काल क्षति पुग्छ । यसरी उत्पन्न हुने समस्यालाई मस्तिष्काघात भनिन्छ । यसले स्नायु र स्नायुतन्तुहरुमा स्थायी क्षति पु¥याइ अकालमा ज्यान समेत जान सक्छ र बाँचे पनि जीवनभर विकलाङ्ग भई परनिर्भर हुनुपर्ने बाध्यता आउन सक्छ ।”चिकित्सकहरुका अनुसार मस्तिष्कमा मस्तिष्कघात भइ रक्तनली बन्द भएर उपचार नपाएको खण्डमा प्रतिमिनेट करिब २० लाख मस्तिष्कका कोशिका मर्दछन् ।

विश्वस्वास्थ्य स्वास्थ्य सङ्गठनले मस्तिष्कघातलाई आपतकालीन स्वास्थ्य अवस्थाका रुपमा वर्गीकरण गरेको छ । पछिल्लो समय नेपालमा मृत्युको तेस्रो कारण मस्तिष्काघात रहेको जनाइएको छ । सरकारसँग मस्तिष्काघातबाट वर्षेनी कतिजनाले अकालमा मृत्यु वरण गर्दछन् भन्ने तथ्याङ्क छैन ।

मस्तिष्काघातका लक्षण

चिकित्सकका अनुसार मस्तिष्काघात हुँदा उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने, एक्कासी मुख एकातिर बाँङ्गिने,हातखुट्टामा कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीरको एक भाग (हर) कमजोर हुनसक्छ । ती लक्षण पहिचान गर्न चिकित्सकले छोटकरीमा ‘बि–फास्ट’अर्थात् (सन्तुलन नहुन, रिङ्गटा लाग्नु, आँखा धमिलो देख्नु, अनुहार बाङ्गिनु, हातखुट्टा लुलो हुनु, बोली लरबराउनु, बोल्न नसक्नु, समय खेर नफाली अस्पताल पुर्‍यउनु) नामकरण गरेका छन् ।

मस्तिष्काघात कसलाई हुन सक्छ ?

५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप भएका, धूम्रपान र मद्यपान सेवन गर्ने व्यक्ति, मधुमेह, उच्च कोलस्टेरोल भएका, तनावपूर्ण जीवनशैली जीउने व्यक्ति, मुटु तथा रक्तसञ्चारसम्बन्धी समस्या भएका, परिवारमा मस्तिष्कघातको इतिहास भएका तथा हालसालै अथवा पुरानो मस्तिष्क सङ्क्रमणले ग्रस्त बिरामीलाई यसको जोखिम हुनसक्ने जनाइएको छ ।

मस्तिष्कघात कसरी हुन्छ ?

डा. फुयालका अनुसार मस्तिष्कघात दुई किसिमले हुन सक्छ । एक मस्तिष्कभित्रको रक्तनलीमा रगतको थेग्लो जमेर र अर्को मस्तिष्कमा रगत आपूर्ति गर्ने धमनीहरु फुटेर । दुर्भाग्यवश पक्षाघातको रोकथाम एवं उपलब्ध सेवाहरुको सम्बन्धमा जानकारी न्यून भेटिएको छ । तसर्थ हामीले त्यस दिशामा ध्यान पु¥याउन आवश्यक छ ।

अस्पतालका कार्यकारी अध्यक्ष प्राडा दीक्षितले भन्नुभयो, “ प्रा. डा. उपेन्द्र देवकोटाले यस अस्पतालको संस्थापनका उद्देश्यमा ‘पक्षाघात तथा विकलाङ्गताका रोकथाममा समर्पित संस्था’ भनी प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँकै मार्गदर्शनमा नेपालकै पहिलो एएसयू, (एक्यूट स्ट्रोक यूनिट) को स्थापना र बाईप्लेन क्याथल्याबको उपलब्धताले अन्तराष्ट्रिय स्तरको पक्षाघातको पूर्ण सेवा यस अस्पतालमा सम्भव भएको छ । यही नै हाम्रो संस्थापकप्रति हाम्रो सच्चा श्रद्धाञ्जली हो ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?