logo
२०८१ मंसिर ८ शनिवार



आँपपीपल अस्पतालमा अक्सिजन उत्पादन सुरु

स्वास्थ्य |
प्रदेश |


आँपपीपल अस्पतालमा अक्सिजन उत्पादन सुरु


नरेन्द्र ढकाल
गोरखा, पुस १ गते । आँपपीपल अस्पतालले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । ग्रामीण भेगमा रहेर पनि विशेषज्ञ सेवा सञ्चालन गरिरहेको सो अस्पतालले थप सेवा विस्तार गरेको हो ।

यो योजना कोभिड आउनुअघिकै हो तर कोभिडका कारण केही ढिलो भयो अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गिरीले भन्नुभयो, “खुसीका कुरा ढिलै भए पनि अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ ।”

रोटरी क्लब अफ गोरखाको समन्वय, रोटरी इन्टरनेशनल, जर्मनका विभिन्न रोटरी क्लबहरु, नेपाल मेड जर्मनी, अमेरिका नेपाल मेडिकल फाउन्डेशनलगायतका विभिन्न सामाजिक सङ्घ संस्थाको सहयोगमा अक्सिजन प्लान्ट तयार भएको बताएको हो । करिब ९० लाख लागतमा प्यान्ट जडान गरिएको उहाँले बताउनुभयो ।

सो रकमबाट अक्सिजन उत्पादन प्लान्ट निर्माण, भर्ने प्रविधि जडान र २ वर्षका लागि एक जना इन्जिनियरको लागि तलब भत्ता पनि उपलब्ध गराएको छ । ‘हाम्रो ट्रार्गेट २४ घण्टामा ६ वटा सिलिण्डर भर्ने हो,’ उहाँले भन्नुभयो, “उत्पादन भएको अक्सिजन एकसाथ बिरामीको बेड र भर्ने ठाउँमा उपलब्ध हुन्छ । प्रयोग सँगसँगै भर्ने काम पनि हुन्छ ।”

सिलिण्डरमा भरिएको अक्सिजन एम्बुलेन्समा प्रयोग गर्न, बत्ति नभएकाबेला बिरामीलाई उपलब्ध गराउने, घरमै बसेर अक्सिजन लगाउनुपर्ने बालबालिका र वृद्धवृद्धालाई उपलब्ध गराउने लक्ष्य लिइएको छ । अस्पतालमै अक्सिजन उत्पादन भएपछि सजिलो भएको उहाँले जानकारी दिनुभयो ।

‘सिडिण्डर खाली हुनेबित्तिकै भर्न चितवन पुग्नुपर्थ्याे, अब त्यो झण्झट सकियो,’ प्रशासकीय अधिकृत गिरीले भन्नुभयो, ‘यसले समय र पैसाको बचत भएको छ ।’ अक्सिजनबिना बिरामीको ज्यान जाने खतरा पनि हटेको उहाँले बताउनुभयो । सो प्लान्ट सोमबारदेखि सञ्चालनमा आएको छ । एक कार्यक्रमबीच पालुङटार नगरपालिकाका उपप्रमुख पम्फा बसेलले अक्सिजन प्लान्टको उद्घाटन गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?