विष्णुप्रसाद पोखरेल
दमक, पुस ९ गते । झापाको दमकस्थित सरकारी दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणपछि हस्ताण्तरण गरिएको छ । अक्सिजन उत्पादनको परिक्षण गरेर सफल भएपछि दमक नगरपालिका मातहतको दमक अस्पतालले अक्सिजन प्लान्टको जिम्मा लिएको हो ।
विश्व बैंकको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’ अन्तर्गत रहेर सो अक्सिजन प्लान्ट बनेको अस्पतालका अध्यक्ष समेत रहनुभएका दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताउनुभयो । डेढ बर्ष अघिदेखि सो काम शुरु भएको थियो ।
कम्तिमा तीन वर्षसम्मको सञ्चालन तथा मर्मत सम्भारको काम युनाइटेड नेसन अफिस फर प्रोजेक्ट सर्भिसेज (युएनओपीएस) मार्फत हुने जनाएको छ । प्रतिघण्टा ४० घनमिटर उत्पादन क्षमताको प्लान्टले अब यस क्षेत्रमा अक्सिनको समस्या नहुने अधिकारीले जानकारी दिनुभयो ।
अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भइरहेकाले अब हरेक बेडमा पाइपलाइनबाट अक्सिजन पुगाउने पनि अधिकारीले बताउनुभयो । अहिले आवश्यकताअनुसार सिलिण्डरमा अक्सिजन भरिने गरेको छ । २०७३ सालमा हेल्थपोष्टबाट स्तरउन्नति भएर १५ शैयाको दमक अस्पताल बनेको हो ।
दमक अस्पतालले कोभिड महामारीको समयदेखि बेग्लै कोभिड अस्पताल सञ्चालन गर्दैआएको छ । ५० जनासम्मको उपचार क्षमताको बेग्लै संरचनासहितको कोभिड अस्पताल दमक अस्पताल मातहत रहेको छ । कोभिड महामारीमा कमी आएसँगै अहिले उक्त अस्पताल अस्थाई रुपमा बन्द गरिएको छ ।
स्वास्थ्य मन्त्रालयमार्फत यस अस्पतालमा सो परियोजना आएको र यसले दमक नगरपालिका मातहत रहेको दमक अस्पतालको स्तरउन्नतिमा सहयोग पुग्ने अपेक्षा लिइएको दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले बताउनुभयो । अस्पताल स्तरन्नतिका लागि सम्बन्धित निकायमा माग पनि गरिदैआएको नगरप्रमुख ओलीले भन्नुभयो ।
अस्पताल सरकारी विमा कार्यक्रम अन्तर्गत दमक नगरपालिकासहित आसपासका नगरपालिका र गाँउपालिका भित्रका बिमित नागरिकहरुको पहिलो विन्दु अस्पताल हो । यहाँ दैनिक १ हजारभन्दा बढी विरामीहरुले ओपिडि सेवा लिदैआएको दमक अस्पतालका सूचना अधिकारी देबी दंगालले बताउनुभयो ।
अस्पतालको नयाँ भवन निर्माणका लागि २०७७ असार १९ गते सम्झौता भएर ३० महिनाभित्र काम सक्नेगरी लुम्बिनी अर्घखाँची निर्माण सेवाले ठेक्का लिएर काम गरिरहेको जनाइएको छ । २० करोड ४ लाख २९ हजार ४०८ रुपिँयाको लागतमा भवन निर्माणको काम भइरहेको दंगालले बताउनुभयो ।