logo
२०८१ मंसिर ९ आईतवार



लमजुङ जिल्ला अस्पतालमा डाइलासिस सेवा सुरु हुने

स्वास्थ्य |
समाज |


लमजुङ जिल्ला अस्पतालमा डाइलासिस सेवा सुरु हुने



बेलिना थापा
लमजुङ, पुस १० गते । लमजुङ जिल्ला अस्पतालमा डाइलासिस सेवा सुरु हुने भएको छ । लमजुङे नागरिकलाई जिल्लामै डाइलासिस सेवा प्रदानका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा सेवा सुरु हुन लागेको हो । प्रदेशको स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य कार्यालय लमजुङमा बजेट आएपछि यसको प्रक्रिया अघि बढेको छ ।

स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीका अनुसार डाइलासिसको सामान खरिद र जडानका लागि बोलपत्र आब्हान गरिसकिएको छ । पुस मसान्तभित्र सम्झौता भएर सामान खरिद र जडानको काम हुनेछ ।यसका लागि बीएच मेडी कन्सर्न प्राईभेट लिमिटेडसंग सम्झौता हुने छ । डाइलासिस सेवा सञ्चालनका लागि ४० लाख ८२ हजार बजेट रहेको छ । अबको तीन महिनापछि अस्पतालबाट सेवा सुरु हुने स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठका अनुसार अस्पतालमा तीन बेडको डाइलासिस सेवाको तयारी गरिएको छ । गण्डकी प्रदेशको सहयोगमा उक्त सेवा सञ्चालन हुन लागेको हो । सामान खरिद र जडान प्रदेशको सहयोगमा हुने र ठाउँ व्यवस्थापन अस्पताल आफैँले गर्नेछ ।

जिल्लामा डाइलासिस सेवा उपलब्ध नहुँदा जिल्ला बाहिर जान बाध्य नागरिकले अब जिल्लामै सेवा पाउनेछन् । मृगौलाका विरामी हाल तनहुँ, चितवन, पोखरा, काठमाडौं गएर सेवा लिने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई जिल्लाबाहिर सेवा लिन जाँदा यातायात, खानाबासका लागि समस्या हुँदै आएको छ । धेरै खर्च लाग्ने भएपछि रोग पालेर बस्न बाध्य नागरिकले अब सहजै सेवा पाउनेछन् ।

मृगौला रोगबाट पीडित विरामी नियमित डाइलासिस गर्न जिल्ला बाहिर र निजी अस्पतालमा महंगो रकम तिर्नुपर्ने बाध्यतामा छन् । अब यस्ता समस्याको अन्त्य हुने भएको छ । विरामीले अब चर्को मूल्य तिरेर उपचार गराउनु पर्दैन । आर्थिक अवस्था कमजोर भएकाहरुले सहुलियतमा डाइलासिस सेवा लिन सक्ने अस्पतालले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?