logo
२०८१ जेष्ठ ५ शनिवार



सिन्धुलीमाढीको कोभिड अस्पताल पुनःसञ्चालनमा

स्वास्थ्य |
प्रदेश |


सिन्धुलीमाढीको कोभिड अस्पताल पुनःसञ्चालनमा


बाबुराम देवकोटा
सिन्धुलीमाढी, माघ २ गते । बजेट अभावमा दुई महिनादेखि बन्द अवस्थामा रहेको सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीस्थित कोभिड अस्पताल पुनः सञ्चालनमा आएको छ ।

गत मङ्सिर १ गतेदेखि बन्द अवस्थामा रहेको सिन्धुली अस्पताल मातहतमा रहेको सो अस्पताल जिल्लामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि माघ १ गतेदेखि पुनःसञ्चालनमा ल्याइएको हो । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले बजेटको व्यवस्था गरेपछि करारमा पुनः कर्मचारी राखेर अस्पताललाई सञ्चालनमा ल्याएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कार्यरत कर्मचारीलाई तलब दिन नसकेर दुई महिनाअघि उक्त अस्पताल बन्द भएको थियो । अहिले सामाजिक विकास मन्त्रालयले करारमा कर्मचारी राख्न मिल्ने भनेर बजेट पठाएको छ । पहिले काम गरेका कर्मचारीलाई बोलाएर करारमा तीन महिनाको लागि भर्ना गरी अहिले अस्पताल सञ्चालनमा ल्याइएको छ ।’ सबै किसिमका गरी अहिले नौ जना कर्मचारी कार्यरत रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई महिनाअघि तलब खुवाउन नसकेपछि कार्यरत ४९ जना स्वास्थ्यकर्मीलगायतका कर्मचारीलाई बिदा गरी अस्पताल बन्द गरिएको थियो । स्थानीय तह, राजनीतिक दल, प्रशासन, नेपाली सेना, रेडक्रसकर्मी लगायतको सक्रियतामा झण्डै ३ करोड रुपियाँ लगानीमा उक्त अस्पताल निर्माण गरी एक वर्षअघि सञ्चालनका लागि सिन्धुली अस्पताललाई जिम्मा दिइएको थियो ।

सिन्धुलीमा पछिल्लो समय दोस्रो लहरको कोरोना भाईरसको सङक्रमण बढेसँगै गत वैशाख महिनादेखि सिन्धुली अस्पतालको युनिटका रुपमा रहने गरी ५० शथ्याको उक्त कोभिड अस्पताल सञ्चालनमा ल्याइएको थियो । दोस्रो लहरको कोरोना लहर यता अस्पतालबाट कोरोना सङ्क्रमित मात्रै ३१४ जनाले सेवा लिएका थिए । जसमध्ये २४६ जना स्वस्थ्य भएर डिस्चार्ज भएका थिए भने ३९ जनालाई बाहिर रिफर गरिएको र २९ जनाको मृत्यु भएको थियो ।

अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको अस्पतालले बताएको छ । अस्पतालका अध्यक्ष प्रल्हाद पोख्रेलले भन्नुभयो, ‘कर्मचारी व्यवस्थापन गर्न नसक्दा अक्सिजन प्लान्ट पनि कति दिन चल्ने हो अहिलेसम्म दुई करोड रुपियाँ खर्च भइसकेको छ ।’

बागतमी प्रदेश सरकारले उक्त अस्पताल सञ्चालनका लागि कर्मचारी व्यवस्थापन गर्न छुट्याएको ६० लाख रुपियाँ बजेट गत कात्तिकबाट समाप्त भएपछि अस्पताल बन्द भएको अस्पतालको भनाइ छ । जिल्लामा अहिले सक्रिय कोरोना सङ्क्रमित आठ जना रहेका र उहाँहरुको होम आइसोलेसनमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?