बाबुराम देवकोटा
सिन्धुलीमाढी, माघ ३ गते । सिन्धुली जिल्लामा पछिल्लो समयमा कोरोना सङक्रमण दर बढ्दै गएको छ । जिल्लामा पछिल्लो एक साताभित्र २३ जनामा कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार माघ २ गते १६ जनामा, पुस ३० गते चार जनामा र पुस २८ गते तीन जनामा कोरोना सङक्रमण पुष्टि भएको हो । योसहित सिन्धुली जिल्लाम अहिले होम आइसोलेसनमा बसेर सात जना महिला र २१ जना पुरुष उपचार गरिरहेका छन् ।
आइतबार मात्रै सिन्धुली अस्पतालमा कार्यरत पाँच जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि डेलिभरी अप्रेसन बाहेक अन्य अप्रेसन सेवा बन्द गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सबै कर्मचारी होम आइसोलेसनमा बसेर उपचार गरि रहेका छन् ।’
जिल्लामा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सिन्धुली अस्पतालले अस्पतालको मूल गेटमा नै १८ वर्ष उमेर समूहमाथिका नागरिकलाई सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको पनि उहाँको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जिल्लाको कोरोनाभाइरस सङ्क्रमणको व्यवस्थापन कार्य भई रहेको बताउनुहुन्छ । उहाँका अनुसार कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न कोभिड अस्पताल सञ्चालन, खोपको निरन्तरता, कोरोना परिक्षणलाई सर्वसुलभ बनाएको लगायतका कार्य भई रहेको बताउनुहुन्छ ।
सार्वजनिक सेवा लिन आउने र कार्यक्रममा आउनेलाई खोपकार्ड समेत अनिवार्य बनाएको उहाँले बताउनुभयो । जिल्लामा बीचमा सङ्क्रमण दर नबढेपछि जनस्वास्थ्य मापदण्ड पालनको ख्याल नगरी मानिसमा हुने गरेको समान्य ढङ्गको व्यवहार र मास्क नलगाउने प्रवृत्तिले पनि सङ्क्रमण दर अहिले बढेको हुन सक्ने उहाँको भनाई छ ।
बजारमा देखिएको मानिसको भिडभाड, राजनीतिक दलका कार्यक्रम, जनस्वास्थ्य मापदण्डलाई पालन नगर्दा पछिल्लो समय कोरोनो सङ्क्रमण बढेको उहाँको अनुभव छ । आइतबार ४१ जनाको स्वाब सङ्कलन गरि परिक्षण गर्दा चार महिला र १२ पुरुषमा कोरोना सङक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आइतबार थपिएकासँगै दोस्रो लहरदेखि जिल्लामा हालसम्म कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन हजार २८४ पुगेको छ । तीमध्ये तीन हजार २१८ जनालाई निको भएको छ भने ४५ जनाले ज्यान गुमाइ सकेको कार्यालयले जनाएको छ । कार्यालयकी कोभिड–१९ जनस्वास्थ्य अधिकृत कृतिषा थिङ अहिले सङक्रमित सबै २८ जना होमआईसोलेसनमा बसेर उपचार गरि रहेको बताउनुहुन्छ ।
जिल्लामा कोरोना भाइरस सङक्रमणबाट ४५ जनाले ज्यान गुमाई सकेका पनि उहाँको भनाई छ । उहाँका अनुसार कोरोना सङक्रमणदर बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्म विद्यालय बिदा गरेर जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलार्य कोरोनाविरुद्धको खोप लगाउने भनेको छ । तर जिल्लामा अहिलेसम्म उक्त खोप आएको छैन ।
सिन्धुली जिल्लामा उक्त उमेर समूहका विद्यार्थीलाई लगाउने खोप अहिलेसम्म नआउदा खोपको सुनिश्चितता नभएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सम्भावित खतरा रोक्न सरकारले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गरेको छ । १८ बर्ष माथिकालाई भेरोसेल खोप लगाउने कार्य भई रहेको र १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीको सङख्या जिल्लामा ४० हजार सात सय रहेको अनुमान गरिएको कार्यालयले जनाएको छ ।