logo
२०८१ मंसिर १० सोमवार



म्याग्दीमा कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै

स्वास्थ्य |


म्याग्दीमा कोरोनाका सक्रिय सङ्क्रमित बढ्दै


अमृतप्रसाद पौडेल

बेनी, माघ ३ गते । हिमाली जिल्ला म्याग्दीमा पछिल्लो एक हप्तामा सक्रिय सङ्क्रमितहरु ३३ जना पुगेका छन् । सोमबार दिउँसो १२ बजेसम्म सक्रिय सङ्क्रमितहरुको सङ्ख्या ३३ पुगेको हो ।

गएको पुस २४ गते सक्रिय सङ्क्रमित १ जना रहेकोमा २५ गतेपछि भने कोभिड–१९ सङ्क्रमितको ग्राफ नियमित रुपमा उकालो लाग्दै गएर आइतबार बेलुकासम्म ३३ जना संक्रमित पुगेको स्वास्थ्य कर्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीले बताउनुभयो ।
हालसम्म कोभिड–१९ बाट म्याग्दी जिल्लाका ८३ जनाको मृत्यु भएको छ ।

कोभिड–१९ का कारण गत साउन २६ गतेसम्म ८२ जनाको मृत्यु भएकोमा मंसिर ६ गते एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या ८३ पुगेको हो । अहिलेसम्म मृत्यु हुनेमा ५३ जना मृतकको सङ्क्रमण पुष्टि म्याग्दीमै भएको थियो भने अन्य ३० जना म्याग्दी बाहिर पहिचान भएका नागरिक हुन् । त्यस्तै कोरोना सङ्क्रमण भएर म्याग्दी जिल्लाभित्रै ३० जनाको मृत्यु भएको र अन्यको उपचारका क्रममा जिलला बाहिर मृत्यु भएको हो ।

म्याग्दी जिल्लामा हालसम्म सात हजार दुई सय ७५ जनाको पीसीआर र सात हजार ७०५ जनाको एन्टीजेन परिक्षण गर्दा तीन हजार ४४२ जनामा सङ्क्रमण पुष्टि भएकोमा अहिले जिल्लामा ३३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

आवश्यक तयारी गरेका छौंः डा. कँडेल
यसैबीच बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर जितेन्द्र कँडेलका अनुसार अहिले अस्पतालमा सक्रिय सङ्क्रमित छैनन् । कोभिड–१९ का लागि आवश्यक पर्न सक्ने उपकरण तथा बेड तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले कोभिड आईसीयू चलाउन सकिदैन । तर उच्च गतिको अक्सिजन दिएर राख्नुपर्ने बिरामीहरु राख्न सक्छौं । आईसीयु चलाउनका लागि थप चार जना मेडिकल अफिसर चाहिने भए पनि अहिले हामीसँग चार जना स्वीकृत दरबन्दीका मेडिकल अफिसर पनि नभएको कारण आईसीयु सञ्चालनमा समस्या छ ।’

बेनी अस्पतालमा कोभिड लक्षित पाँच बेड उच्च गतिको अक्सिजन पाइपलाइनसहित २५ बेड तयारी अवस्थामा राखिएको छ । २०५ वटा ठूलो अक्सिजन सिलिण्डर भरेर राखिएको हुनाले पनि अहिले सुरुको अवस्थामा समस्या नहुने डा. कडेलको भनाइ छ । अहिले जिल्लामा ३३ जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेको भए पनि बिरामीहरुको नियमित सम्पर्कमा रहेको उहाँले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?