काठमाडौं, माघ ३ गते । राष्ट्रिय स्वास्थ्यकर्मी संघले कोरोनाको समयमा स्वास्थ्यकर्मीको मनोबल उच्च पार्न सरकार समक्ष १३ बुँदे माग गरेको छ ।
संघले सोमबार विज्ञप्ती जारी गर्दै अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा सङ्क्रमित भएका स्वास्थ्यकर्मीहरुका लागि व्यवस्थित आइसोलेसनको व्यवस्था गर्नुपर्ने, सङ्क्रमित स्वास्थ्यकर्मीहरुको निशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुको यथासिघ्र वीमाको व्यवस्था गर्नुपर्ने लगाएतका माग गरेको हो ।
त्यस्तै, संघले विज्ञप्तिमार्फत सरकारले कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि पूरा नदिएकाले तुरुन्त दिन पनि आग्रह गरेको छ ।
‘अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा सङ्क्रमित भएका सवै स्वास्थ्यकर्मीहरुका लागि व्यवस्थित आइसोलेसनको व्यवस्था गरियोस्, संक्रमित स्वास्थ्यकर्मीहरुको निशुल्क औषधि उपचारको व्यवस्था गरियोस्, स्वास्थ्यकर्मीहरुको यथासिघ्र वीमाको व्यवस्था गरियोस्, नेपाल सरकारले कोभिड १९ महामारीमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिने भनिएको जोखिम भत्ता हालसम्म पनि पूरा नदिएकाले तुरुन्त दिईने व्यवस्था गरियोस्, स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा र खोप सेवा प्रदान गर्न खटिने स्वास्थ्यकर्मीहरुलाई प्रयाप्त स्वास्थ्य सुरक्षा व्यवस्था र निशुल्क पीसीआर व्यवस्था गरियोस्, खोप केन्द्रहरुमा देखिएको भिडभाड नियन्त्रण गर्ने काम स्वास्थ्यकर्मीको नभएकाले भिड नियन्त्रणको लागि प्रयाप्त स्वयम सेवक र सुरक्षाकर्मी परिचालन गरि भिड नियन्त्रण गरियोस्, खोप वा अन्य स्वास्थ्य सेवा प्रदान गर्दा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुमा हुने भिडभाड, तोडफोड र हातपात गर्नेहरुलाई तुरुन्तै कारबाहीसँगै क्षतिपुतिको व्यवस्था होस् । करारमा भएका स्वास्थ्यकर्मीहरुको म्याद थप गरियोस्, जनस्वास्थ्यका मापदण्ड अपनाउने कार्यमा कडाईका साथ लागु गरियोस्’ संघले विज्ञप्तीमा उल्लेख गरेको छ ।