काठमाडौं, माघ ७ गते । आजबाट सार्वजनिक सेवा लिन अनिवार्य रुपमा खोप कार्ड देखाउनुपर्ने नियम लागू भएको छ । सरकारले कोरोना सङ्क्रमणदर बढेपछि सङ्क्रमणलाई नियन्त्रण गर्न शुक्रबारदेखि सार्वजनिक स्थलमा प्रवेश गर्न र सेवा लिनका लागि खोप कार्ड देखाउनुपर्ने नियमलाई लागू गरेको हो ।
कार्यालय, होटल, फिल्म हल, रंगशाला, हवाईयात्रा गर्दा कोरोनविरुद्धको खोप लगाएको कार्ड वा फोटो अनिवार्य रुपमा देखाएर मात्रै प्रवेश गर्न पाइनेछ ।
यसका साथै मन्त्रालयले बुस्टर डोज खोप लगाउन पनि पहिले लगाएको खोप कार्ड अनिवार्य गरेको छ ।
केही व्यक्तिले कार्ड हराएको गुनासो गरेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै हराएको खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने भएको जनाकारी दिएको छ ।
मन्त्रालयका अनुसार हराएको खोप कार्ड तीन तरिकाबाट लिन सकिन्छ ।
मन्त्रालयले पहिलो दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिने बताएको छ ।
दोस्रो जोन्सन एण्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।
त्यसैगरी, पहिलो मात्रामात्र खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिने मन्त्रालयले व्यवस्था गरेको छ ।