logo
२०८१ जेष्ठ ५ शनिवार



अपाङ्गता भएकाहरुले खोप लगाउन पाएनन्

स्वास्थ्य |
प्रदेश |


अपाङ्गता भएकाहरुले खोप लगाउन पाएनन्


मुरारी अधिकारी
धादिङ, माघ ७ गते । धादिङका केही पूर्ण अशक्त र अतिअशक्त अपाङ्गता भएका व्यक्तिहरुले अझै पनि कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । खोप केन्द्र टाढा भएकोले अरुको सहारा चाहिने अपाङ्गता भएका व्यक्तिहरु खोप लगाउन पाउने अधिकारबाट बञ्चित भएको स्थानीयको भनाइ छ ।

जिल्लाका कतिपय पालिकामा घण्टौं समय लाएर मात्र खोपकेन्द्र पुग्न सकिन्छ । सामान्य व्यक्तिका लागि समेत कठिन भएका यस्ता खोपकेन्द्रहरू जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको छ ।

नीलकण्ठ नगरपालिका २ साँखुकी सीता सुनारको छोरा डिल्बहादुर सुनार शारीरिक रुपले अपाङ्गता हुनुहुन्छ । आमाको सहाराबिना कतै हिँडडृुल गर्न उहाँहरु सक्नुुहुन्न । दिनहुँ हरेक ठाउँमा कोरोनाको खोप लगाइरहँदा आफ्नो छोरालाई गाडी रिजर्भ गरेर खोप केन्द्र पु¥याउने आफूहरूको हैसियत नभएको उहाँले बताउनुभयो ।

साँखुकै ३० वर्षीया गंगा र २३ वर्षीय राजेश दुबै न बोल्न सक्छन् , न त हिंड्न नै । अपाङ्गता भएका आफ्ना दुई वटा छोराछोरीलाई सदरमुकाकाम धादिङबेसीसम्म खोप लगाउन झार्न नसकेकोमा उनीहरूका बाबु ठाकुर सुनारले गुनासो गर्नुभयो । दलित समुदायकी अगुवा जानुका मिजारको पीडा पनि अरूको भन्दा फरक छैन ।

नीलकण्ठ नगरपालिका ४ पौवा राम्चेकी जानुकाको जीवनका महत्वपूर्ण पाटाहरू अति अशक्त छोरीको हेरचाहमै बित्ने गरेको छ । २२ वर्षीया छोरी सुमित्रालाई कोभिड खोप लगाई दिन नपाएकोमा जानुकालाई आत्मग्लानि भएको बताउनुहुन्छ ।
धादिङमा अधिकांश अपाङ्गता भएका व्यक्तिहरूले कोरोनाविरुद्धको खोप पाएका छैनन् । भौगोलिक विकटता, आर्थिक अवस्था कमजोर र सामुदायिक चेतनाको अभावले गर्दा अपाङ्गता भएका नागरिकलाई कोरोनाविरुद्धकको खोप लगाउने विषय ओझेलमा परिरहेको छ ।

अभिभावक, अधिकारकर्मी र स्थानीयले पटक पटक आवाज उठाए पनि पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिकलाई खोप लगाउने कुरा स्थानीय सरकारको प्राथमिकतामा पर्न सकेको छैन । वडामै खोप केन्द्रको व्यवस्था गर्न माग गरिएको नीलकण्ठ नगरपालिका २ का वडाध्यक्ष ध्वजबहादुर गुरुङले बताउनुभयो ।

धादिङमा कोरोनाविरुद्धकको खोपको पहिलो डोज एक लाख ७९ हजार सात सय ६५ जना र दोस्रो डोज एक लाख १६ हजार ५९ जनाले लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । अधिकारवादी संस्था इन्सेकको तथ्यांक हेर्दा धादिङमा अपाङ्गता भएका व्यक्ति सात हजार आठ सय २७ जना छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?