राजन राउत
हुम्ला, माघ ७ गते । कोरोना सङ्क्रमणका हिसावले सात महिनासम्म ग्रीनजोन रहेको जिल्लामा पूनः सङ्क्रमण देखिन सुरु भएको छ । शुक्रबार जिल्ला अस्पतालमा एन्टिजेन किटबाट कोरोना परिक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो ।
यो तेस्रो लहरको पहिलो कोरोना सङ्क्रमित पुष्टि भएको हो । रुघाखोकी लागेर अस्पतालमा उपचार गर्न आएका रुघाखोकीका बिरामीहरुको परिक्षण गर्दा कोरोना पुष्टि भएको छ । स्वास्थ्य सेवा कार्यालय अन्तर्गत जिल्ला अस्पतालका बरिष्ठ अनमी सरिता बोहराले २८ जना रुघाखोकीका बिरामीको कोरोना परिक्षण गर्दा आठ जनामा पुष्टि भएको बताउनुभयो । जसमा तीन जना पुरुष र पाँच जना महिलामा कोरोना पुष्टि भएको छ ।
आठ जनामध्ये सिमकोट गाउँपालिका– ५ का तीन जना र स्वास्थ्य सेवा कार्यालयमा पाँच जना स्वास्थ्यकर्मी रहनु भएको छ । कोरोना पुष्टि भएकालाई सिमकोटस्थित आइसोलेशन वा होम आईसोलेशन कता राख्ने छलफल भइरहेको जनाइएको छ ।
अस्पतालले कोरोना पुष्टि भएकाहरुमध्ये अबस्था हरेर उपचारका लागि राख्ने व्यवस्था गर्ने तयारी गरेको जनाएको छ । गत साउनपछि कोरोना सुन्ने रहेको हुम्ला जिल्लामा तेस्रो लहरको पहिलो कोरोना सङ्क्रमितहरु देखिएका हुन । उहाँले सबैतिर रुघाखोकीका बिरामी बढी रहेकोले परिक्षणको दायरा बढाउनु पर्ने बताउनुभयो । यो बीचमा परिक्षण समेत हुन सकेको थिएन । कोरोनाको दोस्रो लहरमा तीन हजार १३० जनाको कोरोना परिक्षण गर्दा ३९९ जनामा कोरोना देखिएको थियो । सो अबधिमा पाँच जनाको कोरोनाकै कारण मृत्यु भएको थियो ।