logo
२०८१ मंसिर ७ शुक्रवार



स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको ओपिडी सेवा बन्द

स्वास्थ्य |
प्रदेश |


स्वास्थ्यकर्मी नै संक्रमित भएपछि अस्पतालको ओपिडी सेवा बन्द


अमृतप्रसाद पौडेल
बेनी, माघ ७ गते । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण भएपछि आइतबारदेखि ओपिडी सेवा बन्द हुनेभएको छ । हिमाली जिल्ला म्याग्दीको एक मात्र सरकारी अस्पताल बेनी अस्पतालका १७ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बेनी अस्पतालले जनाएको छ ।

संक्रमणको जोखिम बढ्दै गएपछि सेवा सञ्चालन गर्न असहज भएकाले आउँदो शुक्रबारसम्मका लागि ओपिडी सेवा बन्द गर्ने निर्णय भएको बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर जितेन्द्र कँडेलले बताउनुभयो ।

डा. कँडेलकाअनुसार अस्पतालमा कार्यरत ७ जनामध्ये ४ जना मेडिकल अफिसरमा संक्रमण पुष्टि भएसँगै ओपिडी सञ्चालन गर्न कठिन भएकाले बन्द गर्ने निर्णय गरिएको हो । शुक्रबार स्टाफ मिटिङ बसेर प्रसुति तथा शल्यक्रिया सेवालाई निरन्तरता दिने तथा ओपिडी सेवा भने बन्द गर्नुपर्ने देखिएकोले सोहीअनुसार निर्णय गरिएको डा. कँडेलले बताउनुभयो ।

बेनी अस्पतालमा कोभिडको पहिलो र दोस्रो लहरको समयमा यसअघि सञ्चालन गरी बन्द गरिएको फिभर क्लिनीक भने आइतबारदेखि पुनः सञ्चालन हुनेभएको छ । ओपिडी सेवा बन्द गरेपनि फिभर क्लिनीकबाट बिरामीलाई सेवा दिने प्रयास गरिने डा. कँडेलले जानकारी दिनुभयो ।

हाल म्याग्दी जिल्लाभित्र १ सय ४० जना सक्रिय संक्रमित पुगेको स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीले बताउनुभयो । संक्रमितमध्ये १ सय ३९ जना होम आइसोलेसनमा रहेका छन् भने १ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

म्याग्दीमा हाल २ सय ८० वटा अक्सिजन सिलिण्डर मौज्दात रहेको बेनी अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालकाअनुसार जिल्लामा ७९ हजार ८ सय २१ जनाले पहिलो मात्रा र ५८ हजार ४ सय ३० जनाले दोस्रो मात्रा कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?