logo
२०८१ मंसिर ७ शुक्रवार

  अग्रमोर्चामा खट्ने स्वास्थ्य कर्मीहरुको सुझाव  



‘महामारीको अनुभव भयो, अब सुरक्षित हुनुपर्छ’

स्वास्थ्य |
प्रदेश |


‘महामारीको अनुभव भयो, अब सुरक्षित हुनुपर्छ’


अमृतप्रसाद पौडेल
बेनी, माघ १० गते । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनले विश्वलाई गाँजिरहेको छ । विश्वमा करिब ३५ करोडमा संक्रमण पुष्टि हुँदा ५६ लाखले कोभिडका कारण ज्यान गुमाइसकेका छन् । नेपालमा नौ लाख बढीमा संक्रमण पुष्टि हुँदा ११ हजार छ सय ५१ जनाको मृत्यु भइसकेको छ । यही उच्च गतिमा कोभिड–१९ को संंक्रमण बढिरहँदा अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मीहरुको कोभिडबाट बच्ने पहिला र अहिलेको अनुवभ बारे यहाँ प्रस्तुत गरिएको छ ।

सपना सुवेदी
निमित्त निर्देशक– जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश

२०७६ असोज १५ गतेबाट बिधिबत रुपमा सेवा दिन थालेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला शुरु भएलगत्तै कोभिड–१९ को परीक्षणमा नै खट्नुपर्ने भयो । सुुरुको समयमा स्याम्पल कलेक्सनमा जिम्मेवारीअनुसारका व्यक्तिलाई खटाइएको भए पनि कास्कीको रुपा गाउँपालिकाको क्वारेन्टिनमा बसेका व्यक्तिको मृत्यु भएपछि उहाँको स्याम्पल कलेक्सन गर्न कसैले नमानेपछि म आफै खटेँ ।

गण्डकी प्रदेशभित्र मृतकको स्याम्पल कलेक्सन त्यही पहिलो थियो । म गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा निर्देशक हुँदैगर्दा कुनै पनि काममा आफै अगाडि सरेर जनताको सेवालाई मुख्य मानेरै काम गरेको छुँ । स्वास्थ्य मापदण्ड पालना गरेरै त्यसबाट बचिने भएकाले त्यसतर्फ सबैले सोच्नुपर्छ ।

गोविन्द महतो
जिल्ला अस्पताल जोमसोम मुस्ताङ

कोभिड १९ को दुवै वेवमा जिल्ला अस्पताल मुस्ताङमा रहेर काम गरेँ । अहिले पनि यहीँ छु । शुरुमा अस्पतालबाट डाक्टरसहितको टोली स्वाव संकलनका लागि जिल्लाभित्रकै केही गाउँ जाँदा प्रवेश नै गर्न नदिएर फिर्ता गरिएको थियो । उहाँहरुकै स्वास्थ्य जाँचका लागि जाँदासमेत त्यस्तो व्यवहार गरियो ।

जोखिको समयमा स्वास्थ्य क्षेत्रमा जनशक्ति कम हुँदा समस्या हुन्छ । छोटो शब्दमा भन्नुपर्दा स्वास्थ्य क्षेत्रमा जनशक्तिको उचित व्यवस्थापन भएको खण्डमा कुनै पनि महामारीसँंग जुध्न सकिन्छ ।

ध्रुब गिरी
ल्याव टेक्निसियन, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेश, पोखरा

शुरुवाती समयमा स्वास्थ्य कार्यालय, म्याग्दीमा रहेर रोग तथा महामारी नियन्त्रण हेर्ने जिम्मा पाएको हुनाले पनि मेरो लागि यो विषय महत्वपूर्ण थियो । २०७६ चैत १८ गते म्याग्दीको पहिलो शंकास्पद बिरामीको नमुना संकलन गरेका थियौं । २०७७ जेठदेखि प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कोभिड–१९ पीसीआर प्रयोगशालामा खटाइएपछि त्यसयता दैनिक एक हजारदेखि एक हजार दुई सयसम्म नमुना परीक्षण गर्नसक्ने गरी हामी कार्यरत छौंं ।

अटोमेटेड प्रविधि नहुँदा पूरै समय पिपिई लगाएर काम गरी बाहिर निस्कँदा पसिनाले नुहाएजस्तो हुन्थ्यो । पीसीआर ल्याबमा काम गर्ने हामी बस्ने ठाउँबाट बाहिर निस्कँदा मान्छेहरु कोरोना भाइरस नै आयो कि जसरी डराउँथे । अहिले अवस्था फेरिएको छ ।

सोनी कोजु
जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश

कोरोना भाइरसले सन २०१९ देखि हालसम्म पनि विश्वलाई चुनौती दिइरहेको छ । कोभिडको सुरुवाती चरणमा म म्याग्दीको बेनी अस्पतालमा कार्यरत थिएँ । जनताले अग्रमोर्चाका स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोण नै बेग्लै थियो । सुरुको दिनमा जनतालाई बुझाउन नसकिँदा हामीलाई फिल्डमा जाँदा भोक लागेको समयमा खानेकुुरा अनि ट्वाइलेटसम्म प्रयोग गर्न दिइएन ।

जुनसुकै समय फोन आउने अनि फिल्डमा कुदिहाल्न पर्ने अवस्था थियो । पछिल्लो समय ओमिक्रोन युरोपेली देशहरुको साथै छिमेकी भारतमा पनि तीब्र गतिमा बढिरहेको छ । तसर्थ हामीले स्वास्थ्यका मापदण्डहरु अपनाई सहयोग गरिदिएमा त्यसबाट जोगिन सकिन्छ । ओमिक्रोन भेरियन्टसँग आमनागरिकले तर्सिनेभन्दा पनि सतर्कता अपनाउनुपर्छ ।

संगीता पौडेल
ल्याब टेक्निसियन जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश

कोभिड शुरु भएपछि जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशमा ल्याब स्थापना भयो । त्यहाँ शुरुको समयमा हामी ५ जनाले पीसीआर ल्याब सम्हालेका थियौंं । २४ देखि ४८ वटा स्याम्पलको परीक्षण सक्न समेत करिब ८ घण्टा लाग्थ्यो । पूरै समय पिपिइ सेटभित्र बस्न कठिन हुन्थ्यो । तर पनि आफूले लिएको जिम्मेवारी पूरा गर्ने तत्परता अनि बिरामीको सही नतिजा दिने जिम्मेवारीले गर्दा त्यो पीडा भए पनि खटेर काम गरियो ।

सर्वसाधारणले राज्यले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेको खण्डमा यसको फैलावट कम गर्न र आफू पनि स्वस्थ रहन सकिन्छ । प्रयोगशालाकर्मीको नाताले देशलाई अप्ठ्यारो परेका बेला मेरो ज्ञान र सीपको प्रयोग गर्न पाउँदा खुशी त छँदै थियो तर ‘म आमा पनि हुँ नि’ दूध चुस्ने बच्चा छाडेर दिनको चौध पन्ध्र घन्टा काम गर्दा सजिलो त भएन ।

अनिता कासिच्छ्वा
ल्याब टेक्नोलोजिष्ट, आइएमओ महाराजगञ्ज

अस्पतालको ड्युटी र घरबाहेक अन्त कतै जान मन नै भएन । किनकी आफूलाई पनि डर हुन्थ्यो । म करिब तीन वर्षदेखि त्रि.वि. शिक्षण अस्पतालको ब्लडबैंक विभागमा कार्यरत छु । कोभिड महामारीको पहिलो चरणमा १२ घण्टे ड्युटी हुँदा पनि आफ्नो कर्तव्य निर्वाहमा कुनै कसर बाँकी राखिनँ ।

महामारीको समयमा पनि रगत संकलन, रक्तदाताको खोजीजस्ता काममा खटिनु नै जिम्मेवारी थियो । एक पिण्ट रगतले पनि कसैको जीवन जोगाउन सक्ने हुनाले नागरिकको जीवन जोगाउनमै खट्ने काम भयो । रक्त संकलन, कम्पोनेन्ट सेपरेसन, कन्भलेसेन्ट प्लाज्मा संकलनजस्ता काममा खट्दा कतिपयले कोरोनाको नाउँमा ठगेर खाएको भन्ने सुन्दा पीडा भएको थियो ।

सतर्कता अपनाउँदा अपनाउँदै पनि आफैमा संक्रमण भएपछि पछिल्लो समय अझ बढी सतर्कता अपनाउन थालेको छु । सबैले स्वास्थ्य मापदण्ड पालना गरी अगाडि बढेको खण्डमा कोभिडका जुनसुकै स्वरुप आए पनि त्यसलाई जित्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?