logo
२०८१ मंसिर १० सोमवार



चिसो बढेसँगै बाजुरामा रुघाखोकीका बिरामी बढ्दै

स्वास्थ्य |


चिसो बढेसँगै बाजुरामा रुघाखोकीका बिरामी बढ्दै
तस्विर-फाइल


शेरबहादुर सार्की
बाजुरा, माघ १० गते । माघको पहिलो सातादेखि अत्यधिक चिसो बढेसँगै बाजुरामा रुघाखोकीका बिरामी बढ्दै गएका छन् । पछिल्लो समय जिल्लामा बढेको अत्यधिक चिसोले यहाँको जनजीवन प्रभावित बन्दै गएको छ ।

माघको पहिलो सातादेखि मौसममा परिवर्तन भएसँगै उच्च हिमाली भेगमा हिमपात सुरु भएपछि बाजुरामा चिसो बढ्न थालेको हो । जिल्लामा बढ्दै गएको चिसोले गर्दा ज्येष्ठ नागरिक र बालबालिकामा रुघाखोकी, ज्वरो तथा श्वासप्रश्वास जस्ता समस्या देखिन थालेको छ ।

कोरोनासँगै मिल्लोजुल्दो लक्षण देखिएका कारण जिल्लाको जनजीवन प्रभावित बन्दै गएको हो । गाउँमा रुघाखोकीका बिरामी बढ्न थालेपछि स्थानीयहरुमा कोरोना महामारी फैलिएको त होइन भन्ने चिन्ता लागेको बूढीनन्दा नगरपालिका–९ का स्थानीय वीरबहादुर रोकायाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘बिरामी भएकाहरुमा कोरोना देखिन थालेपछि स्थानीयहरु त्रसित बनेका छन् ।’  माघको पहिलो सातादेखि बाजुरामा लगातार वर्षात भएपछि चिसो पनि बढ्न थालेको छ । यसैगरी, कामको सिलसिलामा बाहिर गएकाहरु गाउँ फर्किन थालेपछि रुघाखोकीका बिरामी पनि बढ्न थालेको रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘रुघाखोकी भएत केही दिन ठिक भइहाल्थ्यो यसको चिन्न लक्षण कोरोना जस्तै मिल्लोजुल्दो भएकोले धेरैमा कोरोना सङ्क्रमण भएको हो कि भन्ने चिन्ताले स्थानीयहरु त्रसित देखिन्छन् ।’

कोरोना जस्तै मिल्लोजुल्दो लक्षण देखापरे पनि क्वारेन्टाइन बस्नुपर्ने डरले गाउँमा कोहीले कोरोना परीक्षण गर्न स्वास्थ्य संस्थामा नआउने गरेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

जाँच गरेकाहरुमा पनि प्रायः कोरोना देखिन थालेपछि रुघाखोकी लागेका बिरामी स्वास्थ्य संस्थामा नआउने गरेका हुन् ।

अधिकांश बिरामीमा रुघाखोकी ज्वरो आउने गरेको भए पनि केही बिरामीमा भने निमोनिया पनि हुनसक्ने सम्भावना देखिन्छ ।

पछिल्लो समयमा जिल्लाका सबै पालिकामा यो समस्या देखिन थालेपछि जिल्लाका सबै पालिकाका स्वास्थ्य संस्थामा आवश्यक औषधि उपलब्ध गराइसकेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?