logo
२०८१ मंसिर १० सोमवार



भेरी अस्पतालमा उपचारत बर्दिया र कालिकोटका दुई संक्रमितको मृत्यु

स्वास्थ्य |
प्रदेश |


भेरी अस्पतालमा उपचारत बर्दिया र कालिकोटका दुई संक्रमितको मृत्यु


सिराज खान
नेपालगञ्ज, माघ १२ गते । दुई वर्षपछि कोरोना संक्रमणबाट हुने मृत्युदर शुन्यमा पुगेको नेपालगञ्जस्थित भेरी अस्पतालमा तेस्रो लहर शुरु भएपछि संक्रमितको मृत्यु हुनेक्रम फेरि शुरु भएको छ ।

भेरी अस्पतालमा उपचार गराई रहनुभएका बर्दियाका एक जना पुरुष र कालिकोटका एक जना पुरुष गरेर दुई जनाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ । यसअघि मंगलवार पनि बाँके कोहलपुरका एक जना महिला संक्रमितको पनि उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको थियो ।

जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका कोरोना फोकल पर्सन तेज ओलीकाअनुसार मधुवन नगरपालिका ६ बर्दियाका ७१ बर्षीय पुरुषको उपचारका क्रममा गएराती साढे ११ बजे मृत्यु भएको थियो । कालिकोट शुभकालिका ५ का ५६ वर्षिय पुरुषको बुधवार विहान सवा ११ बजे मृत्यु भएको हो ।

बर्दियाका पुरुषको माघ १० गते भेरी अस्पतालमै पीसीआर परीक्षण गराउँदा संक्रमण पुष्टि भएको र सोही दिन उहाँको अवस्था विग्रिएपछि त्यसै दिन भर्ना गरिएको थियो । उपचारकै क्रममा गएराती उहाँको मृत्यु भएको हो ।

सोहीप्रकार बाख्रा चराउन गएकोबेला लडेर घाइते भई उपचार गराउन नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएका कालिकोट शुभकालिका ५ का पुरुषको पीसीआर गर्दा संक्रमण पुष्टि भएकोमा माघ १० गते भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

भेरी अस्पतालमा उपचार भैरहेकै अवस्थामा स्वास्थ्यमा सुधार नआएपछि बुधवार उहाँको मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो । ओमिक्रोन संक्रमण फैलिएपछि भेरी अस्पतालमा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?