माला कर्ण
सप्तरी, माघ १३ गते । सप्तरीको खडक नगरपालिका ८ का अशोक ठाकुरको दिदी दुर्घटनामा परी घाइते हुनुभयो । तत्काल छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका लागि लग्नुभयो । तर त्यहाँ उपचार सम्भव नभएपछि धरान लैजान एम्बुलेन्स लिएर हिँड्नुभयो । बाटोमा एम्बुलेन्सवालाले विराटनगरको न्यूरो अस्पताल लैजान दवाब दिनुभयो । एम्बुलेन्सवालाले धरानभन्दा विराटनगरको न्यूरो राम्रो भन्दै सुनसरीको इनर्वादेखि एम्बुलेन्स विराटनगरतिर लैजान खोजेपछि ठाकुरले नमानेपछि बाध्यतावश चालकले धरान पुर्याउनुभयो ।
यस्तो पीडा ठाकुरको मात्र नभई धेरै बिरामीको आफन्तसँग हुँदैआएको औषधी व्यवसायी खडक नगरपालिका ७ कल्याणपुरका राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो । स्थानीय तहले एम्बुलेन्स सेवा उपलवब्ध गराउन नसके पनि गाउँमा खुलेका सहकारीदेखि सङ्घ–संस्थाले भने अहिले सप्तरीमा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएका छन् । तर, यसरी सञ्चालन भएका एम्बुलेन्सको सेवाप्रति आम जनसमुदाय ढुक्क हुन सकेका छैनन् । एम्बुलेन्स चालकले नै बिरामीलाई आफू अनुकूलका अस्पतालमा लग्न दवाब दिनेगरेको स्थानीयको गुनासो छ ।
बिरामीलाई अस्पताल पु¥याएवापत अस्पताल सञ्चालकले एम्बुलेन्स चालकलाई बिरामीको अवस्था हेरेर पाँच हजारदेखि १० हजार रुपियाँसम्म दिनेगरेको स्थानीयको आरोप छ । सामान्य औषधि उपचार गरेर घर फर्किहाल्ने बिरामी छ भने एउटा बिरामी अस्पताल पु¥याएको पाँचसय रुपियाँ अस्पतालले दिने गरेको छ । अप्रेशन नै गर्नुपर्ने भयो वा धैरै दिन अस्पतालमा राख्नुपर्नै भयो भने पाँचदेखि १० हजार रुपियाँसम्म अस्पतालले छुट्याउने गरेको आरोप छ ।
राजविराजका एक एम्बुलेन्स चालकले भन्नुभयो, “एम्बुलेन्स चालकले बिरामीलाई एम्बुलेन्समा राखिसकेपछि आफू अनुकूलका अस्पतालमा पु¥याउने गरेका छन् । जसबाट मासिक रुपमा राम्रो ‘इन्कम’ गर्नेगरेका छन् ।’ खडक नगरपालिका ५ का एक्सिडेन्टमा घाइते एक बिरामीका आफन्त बसिरुद्दी मियाँले भन्नुभयोे, “एउटा अस्पताल लैजा भनेको एम्बुलेन्स चालकले अर्कै अस्पताल पु¥याइदिए ।’
उहाँले भन्नुभयो “बीच बाटामा आएपछि त्यो अस्पतालमा त राम्रा डाक्टर छैनन् भन्दै चालकले सोझैं विराट नर्सिङ होम अस्पताल पुर्याए ।’ एम्बुलेन्स चालकले बिरामीका आफन्तलाई बाटोबाटै आफू अनुकूलका अस्पतालमा लग्ने गरेको उहाँको भनाइ छ ।
सप्तरीका अधिकांश एम्बुलेन्स सञ्चालकले बिरामीलाई विराटनगरको न्यूरो र गोल्डेन त्यसपछि बढी पैसा दिने विराट नर्सिङ होममा लग्नेगरेको पाइएको स्थानीयको भनाइ छ । कतिपय एम्बुलेन्स चालकले अस्पतालमा डाक्टर नभएको, त्यो अस्पतालमा अस्ति लफडा भएको, आदि इत्यादि भन्दै आफू अनुकूलका अस्पतालमा बिरामीलाई पु¥याउने गरेको मियाँले बताउनुभयो ।
त्यस्तै गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालका एम्बुलेन्स चालक, ग्लोबल बहुमुखी सहकारी संस्थाका एम्बुलेन्स, जनज्योति कृषि सहकारी संस्था राजविराजका एम्बुलेन्स तथा लाहान लगायतका एम्बुलेन्सका चालकले विराटनगरमा बिरामी लगेपछि बढी कमिसन दिने अस्पतालहरुमा लग्नेगरेको स्थानीयले बताएका छन् । कतिपय एम्बुलेन्स चालक भने मनोमानी रुपमा भाडा लिनेगरेको स्थानीयको आरोप छ ।
सरकारले एम्बुलेन्स सञ्चालन निर्देशिका २०७३ जारी गर्दै एम्बुलेन्सलाई ‘क’, ‘ख’ र ‘ग’ गरेर सुविधा अनुसार एम्बुलेन्सको श्रेणी तोकेको छ । तर, सञ्चालनमा रहेका एम्बुलेन्समा तोकिएका सुविधाहरू अत्यन्त न्यून मात्रै पाइने गरेको उपभोक्ताको गुनासो छ ।
निर्देशिकाको पहिलो बुँदामा उल्लेख गरेअनुसार सबै एम्बुलेन्सका लागि न्यूनतम मापदण्ड तोकिएको छ । राष्ट्रिय प्रदूषण मापदण्ड अनिवार्य रूपमा पालना गरेको, एम्बुलेन्सको पहिचान हुनेगरी आवाज (साइरन), निलो रङ्को सङ्केतको बत्ती जडान भएको, फोर ह्वील ड्राइभ, सस्पेन्सनको चेन सिस्टम भएको, एम्बुलेन्समा ‘एम्बुलेन्स’ शब्द वा संस्थाको टेलिफोन नम्बर अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेखिएको हुनुपर्छ । एम्बुलेन्सको वर्गीकरण बमोजिमका सामान तथा सुविधा अद्यावधिक भएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
निर्देशिकाअनुसार एम्बुलेन्स चालकले पनि अनिवार्य स्वास्थ्यसम्बन्धी तालिम लिएको हुनुपर्छ । कुन रोगको बिरामी हो र उपचारका लागि कुन अस्पताल लैजानुपर्छ भन्ने बारेमा पनि चालकलाई जानकारी हुनुपर्ने व्यवस्था छ । एम्बुलेन्स चालक बन्न २५ वर्ष नाघेको तथा चालक अनुमतिपत्र प्राप्त गरेको ५ वर्ष भएको हुनुपर्ने व्यवस्था छ ।
तर यी निर्देशिकाको नियमन गर्नै निकाय आफैं बेखबर भएपछि सर्वसाधारण उपभोक्ता ठगिदै आएको सामाजसेवी शत्रुधनप्रसाद साहले बताउनुभयो । यस्ता प्रवृत्ति देखाउने एम्बुलेन्स चालकलाई कारवाही गर्नुपर्नै र त्यसको लागि सम्बन्धित निकाय लाग्नुपर्ने उहाँको सुझाव छ ।