logo
२०८१ बैशाख ४ मंगलवार



कोरोनाविरुद्धको खोप लगाउन घरदैलोमै स्वास्थ्यकर्मी

स्वास्थ्य |
प्रदेश |


कोरोनाविरुद्धको खोप लगाउन घरदैलोमै स्वास्थ्यकर्मी


जनार्जन खत्री
सर्लाही, माघ १३ गते । सर्लाहीको हरिवन नगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका नगरवासीलाई खोप लगाउन घरमै स्वास्थ्यकर्मी परिचालन गरिएका छन् । खोपबाट कोही पनि बञ्चित नहोउन् भन्ने उद्देश्यले घरमै स्वास्थ्यकर्मी पठाएर धमाधम खोप लगाउनेक्रम चलिरहेको हरिवन नगरपालिकाको कोभिड फोकल पर्सन तथा स्वास्थ्य शाखाका सहसंयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो । घरमै पुगेर खोप लगाउन सासापुर स्वास्थ्य चौकी, घुर्कौली स्वास्थ्य चौकी र अत्रौली स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरु परिचालन गरिएका छन् ।

माघ ८ गतेबाट सुरु भएको घरदैलो अभियान अन्तर्गत माघ १२ गतेसम्ममा एक हजार १८९ जनालाई घरमै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको कोभिड फोकल पर्सन चौधरीले बताउनुभयो । नगरपालिकाभित्रका चारवटा स्वास्थ्य चौकीमध्ये तीन वटाले धमाधम घरदैलो कार्यक्रम गरिरहेको र बाँकी रहेको हरिवन स्वास्थ्य चौकीले पनि भोलीबाट अभियान सुरु गर्ने जानकारी दिनुभयो ।

हरिवन नगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको विवरणअनुसार हरिवनको वडा ४ पूर्ण खोपमुक्त भइसकेको अर्थात त्यहाँका सबै वडावासीले खोप लगाइसकेका छन् । अहिले वडा १, २, ३, ६ र ७ मा खोप लगाउन स्वास्थ्यकर्मी परिचालन भएका छन् ।

त्यसैगरी वडा ८, ९ र १० मा घरदैलो गरेर विवरण सङ्कलन गरी छुटेकालाई खोप लगाउन वडा ९ को दनुवारी टोलमा बिहीबार वडाध्यक्ष सीताराम पोखरेलको नेतृत्वमा छलफल गरिएको छ । हरिवन नगरपालिकामा अहिलेसम्म २३ हजार ८६३ जनाले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप र ३४ हजार ४२० जनाले पहिलो मात्रा खोप लगाएका नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईले टोलमा माइकिङ गरेर खोपबाट बञ्चित भइरहेकालाई घरदैलोमै पुगेर खोप लगाउने काम भइरहेको बताउनुभयो । ब्यस्तताका कारण तथा शारीरिक रुपमा कमजोर रहेका व्यक्तिलाई घरदैलो कार्यक्रम गरेर खोप लगाउने काम भइरहेको नगरप्रमुख प्रसाईले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?