logo
२०८१ जेष्ठ ५ शनिवार



हुम्लामा बन्द गरिएका अस्पतालका सेवा सुचारु

स्वास्थ्य |
प्रदेश |


हुम्लामा बन्द गरिएका अस्पतालका सेवा सुचारु


राजन रावत
हुम्ला, माघ १६ गते । स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको जिल्ला अस्पतालले बन्द गरिएका आफ्ना सबै सेवा आइतबारबाट सुचारु गरेको छ । स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि बन्द गरिएका सेवा सङ्क्रमित स्वास्थ्यकर्मी आइशोलेसनबाट मुक्त भएपछि अस्पतालले सेवा सुचारु गरेको हो ।

कार्यालय प्रमुख प्रेमबहादुर सिंहले एक हप्ताका लागि बन्द गरिएका अस्पतालका आकस्मिक बाहेकका बन्द सेवा सुचारु गरिएको बताउनुभयो । यसअघि माघ ७ गते कोरोना परीक्षण गर्दा आठ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि सङ्क्रमण बढ्ने त्रासले अन्य सेवा अस्पतालले अर्को सूचना प्रकाशन नगर्दासम्मका लागि बन्द गरेको थियो ।

आजबाट सबै सेवा पहिलेकै अवस्थामा सुचारु भएको जनाउँदै चिकीत्सक र स्वास्थ्यकर्मी चौबीसै घण्टामा सेवामा खटिएको उहाँले बताउनुभयो । अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले खुलेको पहिलो दिनमै पचास जना बिरामीको ओपिडीमा चेकजाँच तथा उपचार भएको बताउनुभयो ।

अस्पतालका बन्द रहेका सेवा सुचारु भएसँगै बिरामीलाई सहज भएको छ । सेवा खुलेसँगै अस्पतालले बिरामीलाई भर्ना लिने जनाएको छ । कोरोनाका कारण अस्पतालका सेवा बन्द हुँदा दीर्घरोग भएकाहरु समस्यामा पर्दै आउनुभएको थियो । यसअघि अस्पतालले आकस्मिक सेवा, प्रसूति, कोरोना परीक्षण र खोप लगाउने कार्यबाहेक अन्य सेवा बन्द गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?