logo
२०८१ मंसिर ९ आईतवार



सुदूरपश्चिममा युवा बढी सङ्क्रमित

स्वास्थ्य |


सुदूरपश्चिममा युवा बढी सङ्क्रमित


अविनाश चौधरी
धनगढी, माघ २० गते । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित हुनेमा युवा पुस्तामा बढी देखिएका छन् । प्रादेशिक स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको हालसम्मको तथ्याङ्क अनुसार युवा पुस्तामा सङ्क्रमण बढी देखिएको हो ।

निर्देशनालयले एन्टिजेन परीक्षणबाहेक पीसीआर विधिबाट गरिएको परीक्षणबाट सङ्क्रमण पुष्टि हुनेमा २० देखि२९ वर्ष उमेर समूह युवा बढी रहेको तथ्याङ्क देखाएको छ । सो तथ्याङ्क अनुसार तेस्रो लहरको कोरोना सङ्क्रमणसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ४१ हजार ६६० जना सङ्क्रमण भएका छन् ।

जसमध्ये २०–२९ वर्ष उमेर समूहका युवा सबैभन्दा बढी सङ्क्रमित भएका छन् । जसमध्ये आठ हजार ६८८ पुरुष र चार हजार ३९३ महिला गरेर १३ हजार ३१ जना कोरोना सङ्क्रमित भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी, ३० देखि ३९ वर्ष उमेर समूहका पुरुष सात हजार ५८५ र महिला तीन हजार १८८ गरेर १० हजार ७७७ जना सङ्क्रमित भएका छन् । ४० देखि ४९ वर्ष उमेर समूहका पुरुष चार हजार २८० र महिला एक हजार ८५९ गरी छ हजार १३९ जना सङ्क्रमित भएको देखिएका छन् ।

यस्तै, ५० देखि ५९ वर्ष उमेर समूहका पुरुष दुई हजार ६३२ र महिला एक हजार १८३ जना गरी चार हजार ८१५ जना व्यक्ति सङ्क्रमित भएका छन् । ६० देखि ६९ सम्मका वृद्ध एक हजार १०५ र वृद्धा एक हजार ८५९ गरी एक हजार ७१२ जना सङ्क्रमित भएका छन् । यस्तै, ७० देखि ७९ वर्ष उमेर समूहका वृद्ध ५६० र वृद्धा ३७५ गरी ९३५ जना वृद्धवृद्धा कोरोना सङ्क्रमित भएका छन् । प्रदेशभरि ८० देखि १०० उमेरसम्मका वृद्धवृद्धा पनि कोरोना सङ्क्रमित भएको निर्देशनालयले जानकारी दिएको छ ।

निर्देशनालयका अनुसार बालबालिका र किशोरकिशोरी सङ्क्रमित हुने दरमा पनि कम छैन । १० देखि १९ वर्ष उमेर समूहका किशोर दुई हजार २७४ र किशोरी एक हजार २४० गरी तीन हजार ५१४ जना किशोरकिशोरी कोरोना सङ्क्रमित भएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । यस्तै, ० देखि ९ वर्षका बालक ६२९ र बालिका ५४९ गरी एक हजार ३७८ बालबालिका सङ्क्रमित भएका छन् ।

कामको सिलसिलामा युवा पुस्ता बढी एक ठाउँबाट अर्को ठाउँमा जाने गरेको कारण तिनैमा सङ्क्रमण बढी देखिएको हो । युवाशक्ति बाहिरको काममा बढी सक्रिय भएका कारण युवायुवती बढी सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कैलालीका प्रमुख लालबहादुर धामीको भनाइ छ । सुदूरपश्चिम प्रदेशको अत्यधिक युवा कामका लागि भारत जाने गरेका मङगलबारसम्मको तथ्याङ्क अनुसार प्रदेशभरि चार लाख ७९ हजार ९६ जनाको परीक्षण गर्दा ५८ हजार ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जम्मा सङ्क्रमण पुष्टि भएकामध्ये १६ हजार ४०१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । यो प्रदेशमा कोरोना सङ्क्रमण भएपछि ज्यान गुमाउनेको सङ्ख्या ६२४ पुगेको छ । तेस्रो लहरको कोरोना सङ्क्रमणको कारण केही व्यक्तिहरुले ज्यान गुमाएका छन् । ज्यान गुमाउने बढी वृद्धवृद्धा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?