logo
२०८१ मंसिर ९ आईतवार



बाँकेमा ३१ हजार ६१७ बालबालिकाले लगाए मोडर्ना खोप

स्वास्थ्य |


बाँकेमा ३१ हजार ६१७ बालबालिकाले लगाए मोडर्ना खोप


सिराज खान
नेपालगञ्ज, माघ २० गते । बाँकेमा १२ देखि १७ वर्ष उमेर समूहका ३१ हजार बढी बालबालिकाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् ।

बुधबारदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाउन सुरु गरेको खोप अभियानअन्तर्गत बाँकेमा ३१ हजार ६१७ बालबालिकाले खोप लगाएका हुन् ।

नेपालगञ्जमा मात्रै १० हजारभन्दा बढी बालबालिकाले खोप लगाएका छन् । खोप अभियान बिहीबार पनि सबै खोप केन्द्रमा जारी रहेको स्वास्थय कार्यालय बाँकेले जनाएको छ ।

बाँके जिल्लाका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले दिनुभएको जानकारी अनुसार जिल्लाका ६९ हजार ८३७ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा पहिलो दिन बुधबार जिल्लाका आठ वटा पालिकामा ३१ हजार ६१७ जनाले खोप लगाएका छन् । विभिन्न विद्यालयमा खोप केन्द्र बनाएर खोप अभियान सुुरु गरिएको थियो ।

खोप लगाउनेहरुमा १५ हजार ९९७ बालक र १५ हजार ६२० बालिका रहेको जनाउँदै फोकल पर्सन श्रेष्ठले पहिलो दिनमा लक्ष्यको आधाजतिले खोप लगाएकोमा दोस्रो दिन बिहीबार पनि सोही सङ्ख्यामा खोप लगाए लक्ष्य सहज रुमा पूरा हुने बताउनुभयो ।

खोप लगाउनेहरुमा सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरमा रहेका छन् । नेपालगञ्जमा मात्रै १० हजार १८० जनाले खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार राप्तीसोनारीमा चार हजार ४९३, कोहलपुर छ हजार १५, बैजनाथमा तीन हजार २०२, खजुरामा तीन हजार ५०५, जानकीमा एक हजार ४४३, नेपालगञ्जमा दश हजार १८०, डुडुवामा एक हजार ७७१ र नरैनापुरमा एक हजार आठ जनाले खोप लगाएका छन् ।

जिल्लाभरिमा ४३३ वटा खोप केन्द्र कायम गरेर खोप अभियान सञ्चालन गरिएको जनाउँदै खोप फोकल पर्सन श्रेष्ठले अब ३८ हजार २२० जना खोप लगाउन बाँकी रहेको बताउनुभयो ।

यसअघि बुधबार विहान खोप अभियानको शुभारम्भ बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले गर्नुभएको थियो । खोप अभियानलाई सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी, कोरोना फोकल पर्सन तेज ओली लगायत पत्रकारहरुले पनि अनुगमन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?