अमरराज नहर्की
तनहुँ, माघ २१ गते । तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालका सङ्घीय सरकारबाट छात्रवृत्ति करारमा कार्यरत विशेषज्ञ चिकित्सक, चिकित्सक तथा स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब पाएका छैनन् । चालु आर्थिक वर्षको साउनदेखिको पुससम्मको तलब प्राप्त नगरेको दमौली अस्पतालले जनाएको छ । मेडिकल अधिकृत आठ जना, विशेषज्ञ चिकित्सक दुई जना र नर्सिङ अधिकृत दुई जना गरी ११ जनाको साउनदेखि तलब बापतको रकम निकासी नभएको अस्पतालका सहायक लेखापाल खिलबहादुर कुमालले जानकारी दिनुभयो ।
विशेषज्ञ चिकित्सकको ६ लाख ३८ हजार १२०, मेडिकल अधिकृतको २६ लाख ६९ हजार ९४० र नर्सिङ अधिकृतको ५ लाख ५८ हजार १८० रुपियाँ गरी तलब बापतको ३८ लाख ६६ हजार २४० रुपियाँ भुक्तानी दिन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
माग गरी पठाए पनि निकासी नआएकाले तलब भुक्तानी दिन नसकिएको अस्पतालले जनाएको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तलब निकासीका लागि सङ्घ सरकारको अर्थ मन्त्रालयलाई पत्राचार गर्न लगाएको दमौली अस्पतालका प्रमुख डा. सुनिल पौड्यालले जानकारी दिनुभयो ।
नेपाल सरकारले काममा खटाई सकेपछि समयमा नै तलब दिनुपर्छ डा.पौड्यालले भन्नुभयो । तलब नपाएकाले घरखर्च बाट माग्नु पर्ने तथा ऋण खोज्नु पर्ने अवस्था आएको उहाँले बताउनुभयो । स्थायी कर्मचारीको भने नियमित तलब निकासी भइरहेको अस्पतालले जनाएको छ ।
जागिर खाएकाले घरमा तलब बुझेर दिनुपर्नेमा तलब पाइएन भनेर उल्टै घरबाट खर्च माग्नु पर्ने हुँदा अप्ठ्यारो महशुस भएको छ, छात्रवृत्ति करारमा कार्यरत मेडिकल अधिकृत डा. सिन्चन पाण्डेले बताउनुभयो ।
कामबाट पछि हट्ने
यसैबीच तलब नपाएका चिकित्सक तथा स्वास्थकर्मीले आईतबारदेखि दैनिक कामबाट पछि हट्न बाध्य हुने जनाएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सयुँक्त रुपमा ज्ञापनपत्र बुझाइएको ज्ञापनपत्रमा यति लामो समय वितिसक्दा पनि केही उपलब्धी नहुँदा माघ २३ गतेबाट कामकाज गर्न असमर्थ हुने उल्लेख गरिएको छ ।
अस्पतालमा कार्यरत डा. आस्था रेग्मी, डा. राजुराना मगर, डा. दिवस ढकाल, डा. सुनयन सुवेदी, डा. सिन्चन पाण्डे, डा. पुजा सैँजु, डा. प्रशन्न कार्की, डा. अभिनन्दन तिवारी, डा. संजीव भण्डारी, डा. कृष्ण गिरी, डा. सुशिल विकले सयुक्त निवेदन दिएर ज्ञापनपत्र बुझाउनुभएको हो ।