logo
२०८१ बैशाख १३ बिहीवार



दैलेखमा एक लाख २० हजारले लगाए कोरोनाविरुद्धको खोप

स्वास्थ्य |


दैलेखमा एक लाख २० हजारले लगाए कोरोनाविरुद्धको खोप


कमल शर्मा
दैलेख, माघ २२ गते । महामारीका रुपमा रहेको कोभिड–१९ को नियन्त्रणका लागि दैलेखमा एक लाख २० हजार ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोना भाइरसविरुद्धको खोप जिल्लाका ११ स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्रमार्फत सर्वसाधारणलाई दिइँदै छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका कोडचेन सुपरभाइजर मदन तिमिल्सेनाले एक लाख २० हजार ७२ जनाले पहिलो र एक लाख आठ हजार तीन जनाले दास्रो डोज खोप लगाएको बताउनुभयो । उहाँले जिल्लामा बुष्टर डोजको खोप अभियान सञ्चालन भए पनि अहिलेसम्म नौ सयले मात्र तेस्रो डोज लगाएको बताउनुभयो । १२ वर्षदेखी १८ उम्मेर समूहका ३५ हजार ६८० जना बालबालिकालाई मोर्डना खोपको पहिलो खोप लगाएको र दोस्रो चरणको ३० हजार लगाएको उहाँले बताउनुभयो ।

कोरोनाको जोखिम उच्च हुँदै गइरहेको बेलामा सरकारले तोकेको उमेर समूहभन्दा बाहेकका नागरिकहरु समेत खोप लगाउन खोप केन्द्रहरुमा पुग्ने गरेका छन् । जसका कारण खोप केन्द्रहरुमा भीड हुने गरेको छ । पहिलो खोप लगाउन आलटाल गरिरहेका नागरिकमा कोरोनाको दोस्रो लहर र तेस्रो लहर पहिलोभन्दा बढी सङ्क्रामक भएर धेरैको ज्यान गएपछि खोपप्रतिको रुचि बढेको छ । तर, सरकारले पर्याप्त खोपको व्यवस्था गर्न नसकेपछि मागजति खोपको आपूर्ति हुन नसकेको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।

गत वर्षको माघ १४ गतेबाट ११ स्थानीय तह रहेको दैलेखमा खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा काम गर्नेहरुलाई कोभिसिल्ड खोप दिइएको थियो ।

हालसम्म जिल्लामा पहिलो दोस्रो र तेस्रो लहर गरी तीन हजार आठ सय तीन जनामा काेरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँले तीन हजार ६२३ जना उपचारपछि डिस्चार्ज भएको र एक सय ५१ जना सक्रिय सङ्क्रमित रहेको बताउनुभयो । उहाँले सबै जना होमआइसोलेसनमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । अहिलेसम्म कोरोना सङ्क्रमणका कारण २९ जनाको मृत्यु भएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?