चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २२ गते । ताप्लेजुङमा अहिले कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित बढ्न थालेका छन् । केही साता अघिसम्म शून्य अवस्था रहेको जिल्लामा हाल सङ्क्रमित हुनेको सङ्ख्या बढ्दैगएको हो ।
स्वास्थ्य कार्यालय ताप्लेजुङकाअनुसार तेस्रो भेरियन्ट सुरु भए यता सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै शुक्रबार सम्ममा ९५ सङ्क्रमित भइसकेका छन् । सङ्क्रमित हुनेमा ५६ जना पुरुष र ३९ जना महिला रहेका छन् । सो सङ्ख्यामध्ये २४ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर विवेक थुलुङले जानकारी दिनुभयो । राईकाअनुसार जिल्लामा ७१ जना सक्रिय सङ्क्रमित छन् ।
स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्ला अस्पताल ताप्लेजुङमा परीक्षण गराउँदा शुक्रबार सम्ममा ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, पाथीभरा याङ्वरक गाउँपालिकामा ३० जना, फुङ्लिङ नगरपालिकास्थित मध्यतमोर जलबिद्युत आयोजनामा १५ जना, मेरिङ्देन गाउँपालिकामा चार जना, सिदिङ्वा गाउँपालिकामा नौ जना र सिरिजङ्घा गाउँपालिकामा दुई जना सङ्क्रमित भएका छन् ।
यता सङ्क्रमितहरु सबै एकान्त बास (होम आइसोलेसन) मा रहेको जिल्लास्थित कोरोना रोकथाम तथा नियन्त्रण व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । ताप्लेजुङ जिल्ला अस्पतालले कोभिड सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएकाहरुका लागि साताको मङ्गलबार र शुक्रबार एन्टिजेन परीक्षण गर्ने प्रवन्ध मिलाएको छ ।