गोविन्द शर्मा
बाँके, माघ २५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम लामो समय सञ्चालन गर्दा पनि सफल हुन नसकेका जिल्लामा पुनः सर्भेक्षण गर्ने भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ सल्यानीबङ्गला र कोहलपुर नगरपालिका वडा नम्बर ५ र ६ को रझेनामा फागुन पहिलो साता सर्भेक्षण गर्ने (रि–प्रि–टास सर्भे)तयारीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाको टोली बाँकेमा आइपुगेको छ ।
सर्भेक्षणभन्दा पहिले स्थानीय तह र वडा तहसम्म जनप्रतिनिधी र स्वास्थ्यकर्मीसहितको अन्तरक्रिया गरिनेछ, केन्द्रका भेक्टर कन्टोल अधिकृत कुमार पोखरेलले भन्नुभयो, – “यो सफल भएमा एकपटक अभियान सञ्चालन गरेपछि फेरि गर्नुपर्दैन । ” पाँच वर्षमाथिका व्यक्तिको शरीरमा हात्तीपाइले रोग भएनभएको पहिचान गर्न तथा आम औषधि सेवन कार्यक्रमको प्रभावकारिता पहिचानका लागि सर्भेक्षण गर्न लागिएको हो ।
नेपालगञ्जमा तीन सय जना र कोहलपुरमा तीन सय जना गरी छ सय जनाको रक्त नमुना सङ्कलन गरी जाँच गरिने पोखरेलले बताउनुभयो । सर्भेक्षणमा पाँच जनासम्म अर्थात् दुई प्रतिशतभन्दा कममा देखिएमा सफल मानेर अन्तिममा एकपटक मात्रै आम औषधि कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ ।
बाँकेमा हालसम्म ११ पटकसम्म आम औषधि सेवन कार्यक्रम सञ्चालन भए पनि यसअघि भएका सर्भेक्षण असफल भएका कारण यसवर्ष पनि कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको छ । सबैभन्दा बढी देखिएको स्थानमा सर्भेक्षणमा घटेको पाइएमा अन्य स्थानको पनि घट्न भन्ने मान्यता रहने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
केन्द्रका वरिष्ठ स्वास्थ्य प्रशासक डा. युवराज पोखरेलसहितको टोलीले बाँकेमा स्थानीय तहमा अन्तरक्रिया गरिरहेको छ । नेपालगञ्जमा अहिलेसम्म सम्पूर्ण वडाबासीले औषधि सेवन गर्न आनाकानी गर्ने गरेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।