logo
२०८१ बैशाख २५ मंगलवार



सबै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच बन्दै

स्वास्थ्य |
प्रदेश |


सबै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच बन्दै


लोकेन्द्र जोशी
दार्चुला, माघ २६ गते । दार्चुलाका सबै वडामा करिब आधारभूत स्वास्थ्य सेवाको पहुँच पुगेको छ । स्वास्थ्य चौकीबाट टाढा रहेका बस्तीमा स्थानीय तहहरुको अगुवाइमा सामुदायिक स्वास्थ्य एकाइ र गाउँघर क्लिनिक स्थापना भएपछि सबै वडामा स्वास्थ्य सेवाको पहुँच पुगेको हो ।

दार्चुला सदरमुकाम खलङ्गामा जिल्ला अस्पताल र शैल्यशिखरको गोकुलेश्वर बजारमा गोकुलेश्वर अस्पतालबाट विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य सेवा प्रवाह भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो । अधिकांश गाउँपालिकामा आधारभूत अस्पताल निर्माणको काम भइरहेको छ । बजेट अभावका कारण आधारभूत अस्पताल निर्माण कार्यले गति लिन नसकेको उहाँले बताउनुभयो ।

मुलुक सङ्घीय संरचनामा गएपछि आधारभूत स्वास्थ्य उपचारका लागि गाउघरमै स्वास्थ्य संस्थाहरू स्थापना हुने क्रम बढेको छ । दार्चुलाका दुर्गम बस्तीहरुमा समेत भौतिक र जनशक्ति व्यवस्थापन गरेर स्थानीय तहहरुले सेवा दिइरहेको बताएका छन् ।

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार अस्पताल दुई वटा, आधारभूत स्वास्थ्य केन्द्र १८, स्वास्थ्य चौकी ४०, नगर स्वास्थ्य केन्द्र चार, सामुदायिक स्वास्थ्य एकाइ ३३, गाउँघर क्लिनिक १४४, खोप क्लिनिक १४२, माइक्रोस्कोपिक सेन्टर आठ, डट्स सेन्टर ४२, सब कोल्ड चेन सेन्टर तीन ठाउँबाट स्वास्थ्य सेवा उपलब्ध भइरहेको छ ।

ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित पाँच स्थानीय तहमा १० शैयाको अस्पताल निर्माणाधीन छन् । नेपाल सरकारको प्रत्येक स्थानीय तहमा अस्पताल निर्माण गर्ने कार्यक्रम अन्तर्गत दार्चुलाको लेकम, मालिकार्जुन, नौगाड, दुहुँ र अपिहिमाल गाउँपालिकामा १० शैय्याको अस्पताल निर्माणको काम भइरहेको छ । केन्द्र सरकारले गत वर्ष स्थानीय तहमा १० शैय्याका अस्पताल निर्माण गर्न ८५ लाखका दरले बजेट पठाइसकेको भएपनि त्यसपछि बजेट नआउँदा अस्पताल निर्माणको कामले गति लिन नसकेको लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले जानकारी दिनुभयो ।

दार्चुलाको दुर्गम एवं सबैभन्दा उचाइमा रहेको ब्यास गाउँपालिका –१ स्थित तिङ्कर गाउँमा ब्यास गाउपालिकाले सामुदायिक आधारभूत स्वास्थ्य इकाई स्थापना गरेको छ । व्यासमा सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा स्वास्थ्य एकाइ केन्द्रको भवन निर्माणाधीन छ । अन्य स्थानीय तहमा समेत आवश्यकताको आधारमा स्वास्थ्य एकाइहरु स्थापना गरेर सेवा प्रवाह भइरहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?