logo
२०८१ बैशाख १३ बिहीवार



सिन्धुलीमा २८ हजार विद्यार्थीले लगाए मोडर्ना खोप

स्वास्थ्य |
प्रदेश |


सिन्धुलीमा २८ हजार विद्यार्थीले लगाए मोडर्ना खोप


बाबुराम देवकोटा
सिन्धुलीमाढी, माघ २६ गते । सिन्धुली जिल्लामा १२ देखि १७ बर्ष उमेर समूहका झण्डै २८ हजार विद्यार्थीले कोरोनाबिरुद्धको मोडर्ना खोपको पहिलो डोज लगाएका छन् । १३ हजार ७३ जना छात्र र १४ हजार ७०२ जना छात्रा गरी २७ हजार ७७५ जनाले उक्त खोप लगाएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयकाअनुसार जिल्लाका नौ वटै पालिकामा सो उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोपको पहिलो डोज लगाइएको हो । स्वास्थ्य कार्यालयलाई ३५ हजार दुई सय डोज खोप प्राप्त भएपछि माघ १७ गतेदेखि विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको थियो ।

धेरै विद्यार्थी रहेको विद्यालयमा स्वास्थ्यकर्मीको टोली विद्यालयम नै गएर खोप लगाएको छ । थोरै विद्यार्थी रहेको विद्यालयमा भने नजिकको अर्को विद्यालयका विद्यार्थीलाई पनि मर्जगरी खोप लगाइएको छ । उक्त खोप अभियान अन्तर्गत विद्यालय बाहिर रहेका सो उमेर समूहका बालबालिकालाई समेत मोडर्ना खोपको पहिलो डोज लगाइएको कार्यालयका जनस्वास्थ्य अधिकृत कृतिषा थिङले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिका –१३ स्थित प्रभात मावि रानीबासमा अध्ययनरत १२ देखि १७ बर्ष उमेर समूहका ३११ जना विद्यार्थीले उक्त खोप लगाएको विद्यालयले जनाएको छ । तीमध्ये २७३ जनाले विद्यालयमै र बाँकी ३८ जनाले नजिकको स्वासथ्य चौकीमा गएर खोप लगाएको विद्यालयका प्रधानाध्यापक अरुणकुमार थिङले जानकारी दिनुभयो । विद्यार्थीले उत्साहपूर्वक खोप लगाएको जानकारी दिदै उहाँले विद्यार्थीलाई खोप लगाएपछि अभिभावकहरु पनि खुशी भएको बताउनुभयो ।

दुई नगरपालिका र सात वटा गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा सामुदायिक विद्यालय ५६३ र संस्थागत विद्यालय ५८ रहेका छन् । पहिलो डोज खोप लगाएका विद्यार्थीलाई २८ दिनपछि दोस्रो डोज खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयकाअनुसार जिल्लामा पछिल्लो चरणको खोप लगाइसक्दा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङख्या एक लाख १६ हजार ३६५ पुगेको छ । जिल्लामा विभिन्न चरणमा सञ्चालन भएको खोप अभियानमा ती व्यक्तिले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका हुन् ।

कोभिशिल्ड तीन हजार ५९० जना, एस्ट्राजेनेका सात हजार ३२२ जना, भेरोसेल ९१ हजार ६४३ र जोनसोन एण्ड जोनसोन १३ हजार ८१० जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । खोपको पहिलो मात्रा भने एक लाख ६४ हजार ८०४ जनाले लगाएका छन् । कोभिशिल्ड बुस्टर एक हजार ९२७ जना र भेरोसेल बुस्टर ६२९ जनाले लगाएका छन् ।

सिन्धुली जिल्लामा अहिले सक्रिय कोरोना सङक्रमित १६ जना महिला र ५० जना पुरुष गरी ६६ जना बिरामी छन् । सङक्रमित बिरामी होमआइसोलेसनमा बसेर उपचार गरिरहेको जनस्वास्थ्य अधिकृत थिङले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?