logo
२०८१ जेष्ठ ४ शुक्रवार



गर्भवतीलाई लक्षित गरी गाउँमा भिडियो एक्सरे सेवा

स्वास्थ्य |
प्रदेश |


गर्भवतीलाई लक्षित गरी गाउँमा भिडियो एक्सरे सेवा


जयकृष्ण यादव
इनरुवा, माघ २६ गते । सुनसरी जिल्लाको सीमावर्ती कोशी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी गाउँगाउँमा भिडियो एक्सरे सेवा दिने भएको छ । बुधबार कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले भिडियो एक्स–रे मेसिन लौकही स्वास्थ्य चौकीका ललिता यादवलाई हस्तान्तरण गरेसँगैं गर्भवतीलाई लक्षित गरी गाउँमा भिडियो एक्सरे सेवा दिने भएको हो ।

गर्भावस्थामा अनिवार्य भिडियो एक्स–रे आवश्यक भएपनि गाउँमा भिडियो एक्सरे सेवा नहुँदा सदरमुकाम इनरुवा तथा विराटनगर धाउन पर्ने अवस्थालाई हेरेर कोशी गाउँपालिकाले गाउँमा भिडियो एक्सरे सेवा दिनेगरी मेसिन हस्तान्तरण गरेको अध्यक्ष अंसारीले बताउनुभयो ।

स्वास्थ्यकर्मीले तीन पटक अनिवार्य भिडियो एक्स–रे गर्नुपर्छ भने पनि सचेतनाको अभाव, ग्रामिण परिबेश र बजारमा पहुँच अभावका कारण गर्भवती अवस्थामा स्वास्थ्य मापदण्डअनुसार भिडियो एक्सरे गर्ने र गर्भजाँच गराउनेको संख्या न्यून रहेको भन्दै पालिकाले गाउँमै पुगेर भिडियो एक्सरे सेवा दिने भएको कोशी गाउँपालिका सामाजिक विकास शाखा प्रमुख तथा अपाङ्गता रोकथाम तथा पुनस्र्थाना कार्यक्रमका फोकल पर्शन राजकिसोर मेहताले जानकारी दिनुभयो ।

समयसमयमा भिडियो एक्सरे नगर्दा गर्भवती, गर्भको बच्चा र प्रसूतिको समयमा आउन सक्ने जटिलतालाई न्यून गर्न पछिल्लो समय गाउँमै गएर भिडियो एक्सरे शिविर सञ्चालन गर्ने उद्देश्यले बोकेर लान सक्ने भिडियो एक्स–रे मेशिन हस्तान्तरण गरिएको मेहताको भनाई छ ।

लौकही स्वास्थ्य चौकीमा कार्यरत ललिता यादवले लौकही तथा कोशीका अधिकांश गर्भवतीले एक पटक मात्र भिडियो एक्सरे गरेको पाइएपछि जोखिम न्यूनीकराण्का लागि गाउँमै पुगेर भिडियो शिविर सञ्चालन गर्नेगरि मेसिन आएको बताउनुभयो ।

करुणा फाउण्डेन्सनको सहयोगमा प्राप्त भएको मेसिनले लौकही र हरिपुर स्वास्थ्य चौकीबाट भिडियो एक्सरे सेवा सञ्चालन गर्ने बताउनुभयो । गर्भवतीले तीन पटक अनिवार्य, स्वास्थ्यकर्मीको परामर्श र गर्भवतीको अवस्थाअनुसार जति पटक पनि भिडियो एक्स–रे गर्न सकिने चिकित्सकहरुले बताउनुभएको छ ।

स्वास्थ्यकर्मीकाअनुसार गर्भवती भएको जानकारी हुनासाथ पहिलो पटक, गर्भवती भएको चारदेखि पाँच महिनामा दोस्रो पटक र सातदेखि आठ महिनामा तेस्रो पटक अनिवार्य भिडियो एक्स–रे गर्नुपर्छ । गर्भमा रहेको बच्चाको अवस्था, गर्भवतीको अवस्था र प्रसूति हुने समयमा हुन सक्ने जटिलतालाई दृष्टिगत गर्दै स्वास्थ्यकर्मीको परामर्शअनुसार अन्य समयमा पनि भिडियो एक्सरे गर्न अवाश्यक रहेको चिकित्सकको सुझाव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?