logo
२०८१ मंसिर ८ शनिवार



ताँजाकोटमा एम्बुलेन्स सेवा सुचारु

स्वास्थ्य |
समाज |


ताँजाकोटमा एम्बुलेन्स सेवा सुचारु
गाउँपालिकामा एम्बुलेन्स पुगेपछि चालकलगायतलाई स्वागत गरिँदै । तस्बिर - राजन रावत, हुम्ला


राजन रावत
हुम्ला, माघ २८ गते । बाजुरा जिल्लासँग सिमाना जोडिएको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कर्णाली करिडोरसँग सो गाउँपालिका जोडिएको र त्यसबाट गाउँपालिका केन्द्रसम्म लिंक सडक निर्माण भएपछि एम्बुलेन्स सञ्चालन गर्न सम्भव भएको हो ।

गाउँपालिकाका उपाध्यक्ष मन्जु बुढाले गत वर्षदेखिको एम्बुलेन्स सञ्चालन गर्ने प्रयास यसपटक सफल भएको बताउनुभयो । उहाँले नेपालगंजबाट एम्बुलेन्स गाउँपालिकामा पुगेको र पुगेलगत्तै सेवा सुचारु गरिएको बताउनुभयो । सो एम्बुलेन्स कर्णाली प्रदेश सरकारको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा सञ्चालनमा ल्याइएको हो ।

उहाँले खरिद तथा अन्य प्रक्रिया मिलाउन केही समय लागे पनि अब गाउँपालिकामा एम्बुलेन्स सञ्चालन गर्न सफल भएको जनाउनुभयो । कर्णाली करिडोरसँग गाउँपालिका जोडिएको र त्यसबाट प्रदेश सरकार र गाउँपालिकाको लगानीमा सडक निर्माण कार्य भएपछि गाउँमा एम्बुलेन्स सञ्चालन गर्न सहज भएको हो ।

गाउँपालिकामा आफ्नै एम्बुलेन्स सञ्चालन गर्ने जिल्लाकै ताँजाकोट पहिलो गाउँपालिका हो । एम्बुलेन्सको मूल्य १७ लाखभन्दा बढी लागत लागेको गाउँपालिकाले जनाएको छ । यसअघि खार्पुनाथ गाउँपालिकालाई भारतीय दूतावासबाट निःशुल्क एम्बुलेन्स उपलब्ध भए पनि हेलिकोप्टरबाट ढुवानी गर्न नसकिएका कारण हालसम्म काठमाडौँमै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?