logo
२०८१ बैशाख ११ मंगलवार



हुम्लामा ७१ प्रतिशतभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

स्वास्थ्य |
प्रदेश |


हुम्लामा ७१ प्रतिशतभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप


राजन रावत
हुम्ला, फागुन १ गते । हिमाली जिल्ला हुम्लामा कोरोनाविरुद्धको खोप लगाउने सेवाग्राहीको सङ्ख्या ७१ दशमलव चालीस प्रतिशत पुगेको छ । एक महिना अगाडि सो सङ्ख्या ४९ प्रतिशत रहेकोमा अहिले अभियानकै रुपमा खोप कार्यक्रम सञ्चालन हुँदा खोप लगाउने सङ्ख्यामा बृद्धि भएको हो ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने जनसङ्ख्या ४१ हजार रहेको अनुमान कार्यालयले गरेको भए पनि हालसम्म २९ हजार २६६ जना नागरिकले पहिलो मात्राको खोप लगाएका छन् । यो खोप जिल्ला अस्पतालदेखि सातवटै गाउँपालिकाका ८१ वटा खोप केन्द्रमा कोरोनाविरुद्ध लगाइएको पछिल्लो विवरण भएको बताउनुभयो ।

त्यसैगरि कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाउने सेवाग्राहीको सङ्ख्या १९ हजार ३४२ र बुस्टर खोपको मात्रा लगाउने एक हजार ४१२ जना रहेको बताउनुभयो । त्यसैगरी जोन्सन एण्ड जोन्सन खोपको मात्रा लगाउनेको सङ्ख्या दुई हजार ११२ छ । मोडर्ना खोप लगाउने १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका छ हजार ४० जना छन् ।

पछिल्लो समय तेस्रो लहरको कोरोनाको त्रास बढेपछि सवै सार्वजनिक निकायमा अनिवार्य खोप कार्डको व्यवस्था गरिएको कारण खोप लगाउने सङ्ख्यामा उल्लेखनीय बृद्धि भएको छ । सञ्चारमा केही कठिनाइ आएका कारण सबै गाउँपालिकाबाट दैनिक खोप लगाउनेको बिबरण लिन समस्या भइरहेकोले यो सङ्ख्या अझै बृद्धि हुने उहाँले बताउनुभयो ।

सबै गाउँपालिकाका खोप केन्द्र र जिल्ला अस्पतालमा दैनिक रुपमा खोप लगाउने कार्य भइरहेको छ । यतिखेर जिल्लाभर बालबालिकाका लागि मोडर्ना खोपको दोस्रो मात्रा, बुस्टर खोप र अन्य पहिलो र दोस्रो मात्राको खोप लगाउने कार्य जारी छ । अहिले पनि कार्यालयसँग खोपको मात्रा मौज्दात रहेको र आबश्यक पर्ने खोप केन्द्रसँग माग गरिएको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?