काठमाडौं, फागुन ३ गते । कोभिड–१९ विरुद्धको हराएको भनिएको २४ लाख खोप खोजी गर्न गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।
डा. गुणराज लोहनीको संयोजकत्वमा बनेको समितिले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको मन्त्रालयका प्रेस सल्लाहकार शान्ताराम विडारीले जानकारी दिनुभयो । बिडारीका अनुसार खोपको बारेमा छानबिन गरी स्वास्थ्यमन्त्रीलाई उक्त प्रतिवेदन बुझाइएको हो ।
उक्त प्रतिवेदन स्वास्थ्यमन्त्री खतिवडाले अध्ययन गरेपछि मात्र पत्रकार सम्मेलनमार्फत भोलि सार्वजनिक गरिने बताइएको छ । हराएको भनिएको २४ लाख खोपको खोजीका लागि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
समितिमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, अनिल थापा, अभियान गौतम सदस्य र वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा सदस्य सचिवमा थिए ।