logo
२०८१ मंसिर ९ आईतवार



छपन्न हजार मात्रा खोप खेर : प्रतिवेदन

स्वास्थ्य |
मुख्य समाचार |


छपन्न हजार मात्रा खोप खेर :  प्रतिवेदन


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपको विषयमा छानबिन गर्न बनेको समितिले ५६ हजार ९०८ मात्रा खोप खेर गएको जनाएको छ । चौबीस लाख मात्रा खोप हराएको भन्ने समाचार प्रकाशनमा आएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ १६ गते मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय खोप छानबिन समिति गठन गरेको थियो ।

उक्त समितिको प्रतिवेदनमा केही जिल्ला तथा स्थानीय तहमा हस्तान्तरण फाराम मौज्दात र खोप लगाएको विवरणको अभिलेख नियमित र पूर्णरूपमा अद्यावधिक हुन नसकेको, खोप दिने स्वास्थ्य संस्थाले खोप कभरेजको अभिलेख राख्न खोप दर्ता किताबको पूर्णरूपमा प्रयोग नगरेको उल्लेख छ । प्रतिवेदनअनुसार ताप्लेजुङको सिदिङ्कवा गाउँपालिका, काठमाडौँको तारकेश्वर र चन्द्रागिरि नगरपालिका, काभ्रेको खानीखोला, बेथानचोक र तेमाल गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर, राक्सीराङ र कैलाश गाउँपालिकाले अझै खोपको विवरण बुझाउन सकेका छैनन् ।

प्रतिवेदनमा चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप हालसम्म प्राप्त भएको जनाएको छ । यस्तै, तीन करोड ३८ लाख २६ हजार ३३० मात्रा खोप लगाइसकिएको छ । यस्तै, एक करोड २३ लाख ३७ हजार ६६५ खोप मौज्दात रहेको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा सबै विवरणलाई विश्लेषण गर्दा चार लाख ५५ हजार ३५५ मात्रा खोप बढी भएको देखिएको छ । प्रतिवेदनअनुसार विभिन्न स्थानमा गरिएको स्थलगत अवलोकन अन्तर्क्रिया र सन्दर्भ सामग्रीको अध्ययन गर्दा १० मात्राको भायलमा ११ जना मानिसलाई समेत खोप लगाएको देखिएको छ ।

यस्तै, कोभिडविरुद्धको खोप निःशुल्क भए पनि केही व्यक्तिले पैसा लिएको गुनासो आएको प्रतिवेदनमा उल्लेख छ । त्यसको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छ । खोप अभियान कार्यक्रममा लक्षित अभियानभन्दा बाहेकका व्यक्तिले पनि लगाएको प्रतिवेदनले जनाएको छ ।
“बुस्टर डोज लगाउनेसम्बन्धी आधिकारिक निर्णय नहुँदै पहिले खोप लगाइसकेका व्यक्तिले पहिलो खोप पनि बुस्टर लगाएको देखिन्छ,” प्रतिवेदनमा भनिएको छ, “खोप अभियान सञ्चालन गर्ने क्रममा खोप अभियानलाई पूर्णरूपमा व्यवस्थित गर्न सकिएन । ” 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?