logo
२०८१ जेष्ठ ३ बिहीवार



बालबालिकालाई क्यान्सरबाट जोगाउन सचेतना कार्यक्रम

स्वास्थ्य |
प्रदेश |


बालबालिकालाई क्यान्सरबाट जोगाउन सचेतना कार्यक्रम


लक्ष्मण पौडेल
भैरहवा, फागुन ४ गते । हरेक किसिमको क्यान्सर रोेगको उपचार नेपालमै सम्भव भएको भन्दै त्यसको समयमै पहिचान गरी उपचारमा ढिलाई गर्न नहुने क्यान्सर रोग विशेषज्ञहरुको सुझाव रहेको छ ।

लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी र नेपाल बाल कल्याण संस्थाको आयोजना तथा नेपाल क्यान्सर सहयोग समूहको प्राविधिक सहयोगमा अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा भैरहवामा आयोजित सचेतना कार्यक्रममा विज्ञहरुले सो सुझाव दिनुुभएको हो ।

कार्यक्रममा बोल्दै बाल क्यान्सर रोग विशषज्ञ डा. अन्जली पण्डितले क्यान्सर धनी गरीब जोसुकैलाई हुनसक्ने भन्दै क्यान्सर हुँदैमा आत्तिन नहुने बताउनुभयो । समयमै उपचार गरे क्यान्सररोग निको हुने उहाँको भनाई छ । “क्यान्सर उपचारको लागि नेपालमै सम्भव छ, विदेश जानु जरुरी छैन, तर समयमै उपचार गर्नुपर्छ” उहाँले भन्नुभयो ।

बोनम्यारोको ट्रान्सप्लान्ट गर्ने नेपालकै पहिलो विशेषज्ञ चिकित्सक समेत रहनुभएकी डा. पण्डितले नङ र कपालबाहेक शरीरको हरेक अंगमा क्यान्सर हुनसक्ने बताउनुभयो । नेपाल क्यान्सर अस्पतालमा कार्यरत डा. पण्डितले बालबालिकामा हुने क्यान्सर रोगको संकेत, त्यसको उपचार विधिबारेमा अभिभावक बढी सचेत हुनुपर्ने सुझाव दिनुभयो ।

सामुदायिक तथा संस्थागत विद्यालय सिद्धार्थनगरका पाँच सयभन्दा बढी विद्यार्थी, शिक्षक तथा लायन्स लिडरहरुको सहभागितामा सम्पन्न कार्यक्रममा बालबालिकाको आँखामा हुने रेटीना ब्लास्टो क्यान्सर रोगका विशषज्ञ डा. ज्ञानेन्द्र लामिछानेले आँखामा हुने क्यान्सर रोगको बारेमा जानकारी गराउनुभयो । त्यसैगरी बालरोग विशषज्ञ डा. राजु काफ्लेले बालबालिकालाई लाग्ने विभिन्न प्रकारको क्यान्सर रोगबारेमा जानकारी गराउनुभयो ।

कार्यक्रममा नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराईले प्रत्येक बालबालिका लाई उपचारको हक रहेको बताउँदै क्यान्सर पीडितको उपचार, स्याहार सुसार र सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले स्थानीय सरकारले बालबालिकाको उपचारका लागि विभिन्न संघ–संस्थाको सहकार्यमा सहयोग गर्ने बताउनुभयो । उहाँले क्यान्सर लागेर उपचार गर्नुभन्दा पहिले लायन्स क्लब भैरहवा ग्रीन सिटीलेजस्तै ठूलो संख्यामा लक्षित वर्ग राखेर सचेतना चलाउन महत्वपुर्ण हुने बताउनुभयो ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु नेपालका पुर्व डिष्ट्रिक गभर्नर अरुणप्रताप राणाले लायन्स क्लबहरुले विधागत रुपमै बालबालिकामा लाग्ने क्यान्सर रोगको विषयमा देशैभर सचेतना तथा उपचारमा सहयोग गरिरहेको जानकारी दिनुभयो । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष गोविन्दप्रसाद गिरीले बालबालिकामा हुने क्यान्सर बारेमा नगरका करिब सबै विद्यालका प्रतिनिधिमूलक विद्यार्थी भेला गराई कार्यक्रम गर्दा सन्देश घरघरमा पुग्ने बताउनुभयो ।

नेपाल बाल कल्याण संस्थाका अध्यक्ष अधिवक्ता शिवप्रसाद गौडेलले बालबालिकाको उपचार, स्याहारसुसार र जानकारी पाउने अधिकारलाई संरक्षित गर्ने सबैको दायित्व रहेको बताउनुभयो । कार्यक्रममा संगिता जिसी, लायन्स क्लब भैरहवा ग्रीनसिटीका कोषध्यक्ष बिना पौडेल, लायन्स क्लब भैरहवा ग्रीन सिटीका सचिव थानेश्वर पाण्डे, लायन्स क्लब अफ भैरहवा लुम्बिनीका अध्यक्ष लक्ष्मी केसी, नेपाल क्यान्सर सहयोग समूहका सल्लाहकार हुतानन्द खनाल, महेशचन्द थापालगायतले बोल्नुभएको थियो ।

त्यस अवसरमा क्यान्सर रोग पीडित साढे चार वर्षीय बालक आशिष अलिको उपचारको लागि नेपाल बाल कल्याण संस्था र लायन्स क्लब भैरहवा ग्रीन सिटीले संयुक्त रुपमा ५१ हजार रकम सहयोग गरेका छन् । त्यसैगरी सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले ५० हजार, डा. राजु काफ्लेले ४० हजार रुपियाँ सहयोग गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?