logo
२०८१ बैशाख ८ शनिवार



सिन्धुलीमा ४६ वटा वडा एम्बुलेन्सविहीन

स्वास्थ्य |
प्रदेश |


सिन्धुलीमा ४६ वटा वडा एम्बुलेन्सविहीन


बाबुराम देवकोटा
सिन्धुलीमाढी, फागुन ६ गते । सिन्धुली जिल्लामा रहेका स्थानीय तहका ४६ वटा वडा एम्बुलेन्सविहीन छन् । जिल्लाका नौवटै स्थानीय तहमा गरी कुल ७९ वटा वडा रहेकोमा हालसम्म ३३ वटा वडामा मात्र एम्बुलेन्स सुविधा छ ।

यी सबै वडामा गरी कुल १०७ वटा सरकारी स्वास्थ्य संस्था छन् । तीमध्ये ३२ वटा वडामा रहेका सरकारी स्वास्थ्य संस्थामा एम्बुलेन्सको सुविधा रहेको सम्बन्धित पालिकाले जनाएका छन् । सुनकोसी गाउँपालिकाका सबै वडा एम्बुलेन्स सेवाको पँहुचभित्र छन् ।

सातवटा वडा रहेको सो पालिकामा सबै वडामा एम्बुलेन्स सुविधा रहेको गाँउपालिकाका अध्यक्ष दीपाकुमारी बोहोराले जानकारी दिनुभयो । सो पालिकामा सातवटै वडामा गरी ११ वटा सरकारी स्वास्थ्य संस्था रहेको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

जिल्ला सदरमुकाम समेत रहेको कमलामाई नगरपालिकाका १४ वटा वडामध्ये वडा १, ३, ६, ८, ९, र ११ मा गरी छ वटा वडामा मात्रै एम्बुलेन्स सुविधा छ । कमलामाई नगरपालिकामा १४ वटा सरकारी स्वास्थ्य संस्था रहेको नगरपालिका स्वास्थ्य शाखा संयोजक सुरेश पासवनले जानकारी दिनुभयो । ती वडामा भएको एम्बुलेन्सबाटै नजिकका वडाका बासिन्दाले सुविधा लिएको उहाँको भनाइ छ ।

तीनपाटन गाउँपालिकाका ११ वटा वडामध्ये वडा १ र ११ मा रहेको प्रथमिक स्वास्थ्य केन्द्रमा गरी दुईवटा वडामा मात्रै एम्बुलेन्स सेवाको सुविधा छ । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाले बाँकी नौवटा वडामा एम्बुलेन्स सेवा उपलब्ध नभएको र सबै वडामा गरी १७ वटा सरकारी स्वास्थ्य केन्द्र रहेको बताउनुभयो ।
त्यस्तै, फिक्कल गाउँपालिकाका छ वटा वडामध्ये वडा २ र ५ मा एम्बुलेन्सको सुविधा छ । गोलन्जोर गाँउपालिकाका सातवटा वडामध्ये वडा ३ मा मात्रै एम्बुलेन्सको सुविधा छ । फिक्कलमा छ वटा र गोलन्जोरमा १२ वटा स्वास्थ्य संस्था रहेको सम्बन्धित पालिकाले जनाएका छन् ।

गोलन्जोर गाँउपालिका वडा ७ लाई दिएको एम्बुलेन्स दुर्घट्नामा परी क्षतिग्रस्त भएको र त्यसपछि त्यसलाई मर्मत गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीले जानकारी दिनुभयो । दुधौली नगरपालिकाका १४ वटा वडामध्ये १, ५, ६, ९, ११, १२, १३ र १४ मा एम्बुलेन्सको सुविधा छ । उक्त नगरपालिकामा १६ वटा सरकारी स्वास्थ्य संस्था रहेका छन् ।

घ्याङलेख गाँउपालिकाका पाँच वडामध्ये वडा ३ मा मात्रै एम्बुलेन्सको सुविधा रहेको १० वटा सरकारी स्वास्थ्य संस्था रहेको गाँउपालिका अध्यक्ष जगतबहादुर भोलनले जानकारी दिनुभयो । गाउँपालिकाले एम्बुलेन्स खरिद गर्न खोजेपछि कागतपत्र मिलाउने झन्झटिलो प्रक्रिया रहेकोले समस्या भएको उहाँको भनाइ छ । मरिण गाउँपालिकाका सातवटा वडामध्ये वडा ३, ६ र ७ मा मात्रै एम्बुलेन्स सुविधा छ ।

उता हरिहरपुरगढी गाँउपालिकाका आठवटा वडामध्ये २, ४ र ७ मा मात्रै एम्बुलेन्सको सुविधा छ । मरिणमा नौ वटा र हरिहरपुरगढीमा ११ वटा सरकारी स्वास्थ्य संस्था रहेको सम्बन्धित पालिकाले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?