logo
२०८१ जेष्ठ ८ मंगलवार



मध्यनेपालमा ग्रामीण अल्ट्रासाउण्ड सेवा सुभारम्भ

स्वास्थ्य |
प्रदेश |


मध्यनेपालमा ग्रामीण अल्ट्रासाउण्ड सेवा सुभारम्भ


बेलिना थापा
लमजुङ, फाुगन ८ गते । लमजुङको मध्यनेपाल नगरपालिकाले नगरपालिकाभित्रका गर्भवती महिलालाई लक्षित गर्दै ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ । नगरपालिकाले स्वास्थ्य संस्थामा गर्भजाँच गराउन आउने महिलालाई लक्षित गरी अल्ट्रासाउण्ड मेशिन खरिद गरी सेवा सुरु गरेको जनाएको हो ।

नगरपालिका प्रमुख रमेशकुमार पाण्डेकाअनुसार आइतबारबाट सो सेवा सञ्चालन गरिएको हो । गर्भवती अवस्थामा आमा र बच्चाको स्वास्थ्य अवस्था बुझ्न भिडियो एक्सरे गर्न आवश्यक रहेकाले उक्त सेवा थालिएको हो । गर्भवतीलाई कम्तिमा पनि दुईपटक निःशुल्क रुपमा भिडियो एक्सरे सेवा प्रदान गर्न ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम थालिएको उहाँले बताउनुभयो ।

‘गाउँमा अल्ट्रासाउण्ड सुविधा नहुँदा आमा र बच्चाको स्वास्थ्यबारे बुझ्न समस्या भयो । कतिपय निजी अस्पतालमा महंगो शुल्क तिर्न बाध्य भए । कतिलाई सरकारी अस्पताल टाढा भएकाले धेरै खर्च हुन्थ्यो’ पाण्डेले भन्नुभयो, ‘गर्भावस्था भनेको महत्वपूर्ण समय भएकाले यसमा हामीले चासो दिएका हौंं । अब गाउँका महिलालाई सेवा दिनेछौं ।’

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेलकाअनुसार आइतबार भार्लेटार स्वास्थ्य चौकीबाट सो सेवा सुभारम्भ गरिएकोे छ । नगरपालिका प्रमुख पाण्डेले स्वास्थ्यचौकीका अनमी सुनिता रायमाझीलाई अल्ट्रासाउण्ड मेशिन प्रदान गर्नुभएको छ । ग्रामीण अल्ट्रासाउण्ड मेशिन नगरपालिका आफैंले ५ लाख रुपियाँमा खरिद गरेको उहाँले बताउनुभयो । एउटा मेशिन गण्डकी प्रदेश सरकारले सहयोग गरेको उहाँले भन्नुभयो ।

वडामा मेशिन लगेर आवश्यकताअनुसार घुम्ती रुपमा गर्भवतीको स्वास्थ्य जाँच गरिने स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनुभयो । एक महिनाको फरकमा हरेक वडामा पुगेर सेवा प्रवाह गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

नगरपालिकाले गर्भवती महिलालाई प्रयोगशालाको पनि सुविधा दिएको छ । रम्घा स्वास्थ्य चौकी, चिसंकु स्वास्थ्य चौकी र भोर्लेटार स्वास्थ्य चौकीबाट उक्त सेवा प्रवाह भएको नगरपालिकाको भनाई छ । नगरपालिकाले गर्भवती आमा तथा नवजात शिशुका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दैआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?