सिराज खान
नेपालगञ्ज, फागुन ९ गते । कोरोना सङ्क्रमणबाट नेपालगञ्जस्थित भेरी अस्पतालमा बर्दियाका थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका–८ निवासी २७ वर्षीय युवकको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।
भेरी अस्पतालमा यही फागुन ७ गते भर्ना भएका उहाँको आइतबार राति मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।
गत माघ २८ गते भेरीको प्रयोगशालामा परिक्षण गर्दा ती युवकलाई कोरोना सङ्क्रमण पुष्टी भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो ।
यसअघि शनिबार राति पनि बर्दियाकै एकजना सङ्क्रमित महिलाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । बर्दियाको बढैयाताल गाउँपालिका–९ की ३६ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।
कोरोना सङ्क्रमणबाट अहिलेसम्म बाँकेका ३५१ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका ४४८ जनाको मृत्यु भएको कोारेना फोकल पर्सन ओलीले बताउनुभयो ।
बाँकेमा सङ्क्रमण हुने दर घटेपनि मृत्यु हुने क्रम रोकिएको छैन । प्रायः दैनिक एकजना सङ्क्रमितको मृत्यु भइरहेको अस्पतालले जनाएको छ ।