logo
२०८१ बैशाख २० बिहीवार



अस्पतालको बाल उपचार कक्षलाई स्वास्थ्य सामग्री सहयोग

स्वास्थ्य |
प्रदेश |


अस्पतालको बाल उपचार कक्षलाई स्वास्थ्य सामग्री सहयोग


बेलिना थापा
लमजुङ, फागुन ११ गते । जिल्ला अस्पताल लमजुङमा स्थापना भएको बाल उपचार कक्षलाई १ करोड बढी रुपियाँको स्वास्थ्य सामग्री सहयोग प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश पोखराको सहकार्य, सिआरएस नेपालको आर्थिक सहयोग र कारितास नेपालद्वारा कार्यान्वयन गरिएको कोभिड १९ को दोस्रो भेरियन्ट इमरजेन्सी रेस्पोन्स परियोजना अन्तर्गत सहयोग प्राप्त भएको हो ।

उपचार कक्षलाई १ करोड २५ लाख ४८ हजार ४ सय ११ रुपियाँको सामग्री बुधबार गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले अस्पताल विकास समितिका अध्यक्ष मदन रानालाई सामग्री हस्तान्तरण गर्नुभयो । सामग्री हस्तान्तरण गर्दै मन्त्री गुरुङले स्वास्थ्य क्षेत्र सम्वेदनशील भएकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

सरकारले आवश्यकताअनुसारको स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन गर्न नसकेको उहाँले बताउनुभयो । कोरोना संक्रमणको क्रममा प्रदेशका अस्पताल सुदृढीकरण बनाउने र दक्ष जनशक्ति बनाउने कुरामा योजना बनाएको उहाँको भनाई छ । दक्ष जनशक्ति उत्पादन गर्न शिक्षण अस्पतालको रुपमा विकास गर्ने योजना पनि उहाँले सुनाउनुभयो । आवश्यकताअनुसार पीसीआर मेशिन, भेन्टिलेटर सञ्चालन गर्ने कार्यमा सरकार लागेको उहाँले बताउनुभयो ।

मन्त्री गुरुङले एम्बुलेन्स समस्या समाधानका लागि एम्बुलेन्समा जीपीएस जडान गर्ने बताउनुभयो । एम्बुलेन्स कहाँ जाँदैछ भनेर मन्त्रालयबाट हेर्न सकिने बताउनुभयो । प्रदेशका नागरिकले सहज सेवाका लागि सोको व्यवस्था मिलाउन लागिएको उहाँको भनाई छ । हरेक नागकिरलाई रगत चेकजाँचका लागि लाग्ने खर्च प्रदेशले निःशुल्क व्यहोर्ने उहाँले बताउनुभयो ।

अस्पताललाई ३३ प्रकारका सामग्री प्राप्त भएको जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । उहाँकाअनुसार बालउपचार कक्षका लागि एबीसी मेशिन, फोटो थेरापी मेशिन, पिएमओ लाइन, स्टेचर, युएसबी मेशिन, ह्वील चियर, एक्सरे
भ्यू बक्स, स्वास्थ्यमा गम्भीर समस्या भएका बालबालिकालाई राखेर उपचार गरिने मेशिन सहयोग गरेको हो । सो सामग्रीले बालबालिकाको उपचारका लागि सहज बनाउने उहाँले बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष मदन रानाले साताअघि मात्र बालरोग विशेषज्ञ आएको बताउनुभयो । अस्पतालले गतबर्षदेखि ५ बर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचार गराउँदैआएको बताउनुभयो । प्रदेशकै सहयोगमा पीसीआर ल्याब र आइसोलेशन वार्डको काम अन्तिम चरणमा रहेको बताउनुभयो ।

अस्पताललाई यसअघि सीआरएस नेपाल र कारितास नेपालले १३ लाखको सामग्री सहयोग गरेको थियो । सो संस्थाको कार्यकारी निर्देशक ललित बडुले कोरोना संक्रमणको समयमा तत्कालका लागि मेडिकल सामग्री सहयोग गरेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?