logo
२०८१ बैशाख २१ शुक्रवार



बाँकेको डुडुवामा ज्येष्ठ नागरिक अस्पताल निर्माण शुरु

स्वास्थ्य |
प्रदेश |


बाँकेको डुडुवामा ज्येष्ठ नागरिक अस्पताल निर्माण शुरु


सिराज खान
नेपालगञ्ज, फागुन १२ गते । ज्येष्ठ नागरिकलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बाँके जिल्लाको डुडुवा गाउँपािलकाले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि ज्येष्ठ नागरिक अस्पताल निर्माण शुरु गरेको छ ।

ज्येष्ठ नागरिकलाई मात्र उपचार सेवा दिनका लागि ज्येष्ठ नागरिकमैत्री १६ सैयाको अस्पताल निर्माण शुरु गरिएको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो ।
गाउँपालिकाको वडा २ स्थित बेतहनी स्वास्थ्य चौकीको हाताभित्र छुट्टै ज्येष्ठ नागरिक अस्पतालका लागि आठ कोठे भवनको शिलन्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष चौधरीले ज्येष्ठ नागरिकको सम्मानका लागि स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी निशुल्क उपचार तथा औषधी वितरण गर्ने उद्देश्यले अस्पताल बनाउन लागिएको बताउनुभयो ।

डुडुवामै विशेषज्ञ सुविधा र प्रयोगशाला मार्फत स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास दिलाउँदै घर–घरमै पुगेर सेवा प्रदान गर्ने अवधारणालाई अघि बढाएको बताउनुभयो । ज्येष्ठ नागरिक अस्पताल सञ्चालनमा आएपछि विशेषज्ञ परामर्श र प्रयोगशाला जाँचका लागि नेपालगञ्ज जानुपर्ने बाध्यताको अन्त्य हुने चौधरीले बताउनुभयो ।

७९ लाख रुपियाँको लागतमा निर्माण हुने सो अस्पतालमा आठ—आठ बेडको महिला र पुरुषका लागि छुट्टै वार्ड, एक्सरे सेवा, इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा, फार्मेसी, डियुटी कक्ष, सोधपुछ कक्ष, प्रयोगशाला र शौचालयसहितको अत्याधुनिक भवनको निर्माण हुने गाउँपालिकाका इन्जिनियर प्रकाश थापाले बताउनुभयो ।

तीन महिना अवधीमा निर्माण सम्पन्न गर्नेगरी दिपक विल्डर्स प्रालि.ले कोहलपुर बाँकेले सो भवन निर्माणको ठेक्का लिएको छ । वहुवर्षिय योजना अन्तर्गत आगामी वर्षमा थप भौतिक पुर्वाधार निर्माण गरी सेवास्तर बृद्धि गरी लैजाने योजना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो ।

डुडुवा गाउँपालिकाले जिल्लामा स्वास्थ्य सेवाको क्षेत्रमा अग्रणी स्थान हासिल गरेको गाउँपालिकाको भनाई छ । गाउँपालिकाले तीन स्थानमा निःशुल्क प्रयोगशाला, नागरिक आरोग्य केन्द्र, आठवटा स्थानमा स्वास्थ्य केन्द्रको सञ्चालन, दुई वटा एम्बुलेन्स सेवा सञ्चालन गर्दैआएको गाउँपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?